एसियाली विकास बैंक(एडिवी)का महानिर्देशक हुँ किमले नेपाललाई ठूला गेम चेन्जर परियोजना तयार गर्न आग्रह गरेका छन् ।
सोमवार अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा उनले नेपाललाई ठूलो सहयोग हुने ठूला गेम चेन्जर आयोजनामा लगानी गर्न तयारी गरेको बताए ।
बैंकका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षले पनि त्यस्ता ठूला आयोजनाको संभावना हेर्न हामीलाई निर्देशन दिनुभएको छ’ उनले भने । गत बर्षको बैंकको सहायता प्रतिवद्धता अनुसार निकासा कम भएको उल्लेख गर्दै कार्यान्वयनमा जोड दिएर सहयोग बढी लिन पनि आग्रह गरे ।
‘रु ५० अर्ब सम्मको सहयोगको संभावना रहेको छ उनले भने , बिगतमा सानातिना छरिएर रहेका परियोजनामा बढी लगानी भएको तथा कसरत पनि बढी भएकाल सीमित तर अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने आयोजनामा लाग्नुपर्ने महसूस गरिएको छ ।’
यसअघि अर्थमन्त्री डा महतले सानातिना आयोजनामा भन्दा ठूलो प्रभाव दिने परियोजनामा लगानी गर्न र परिवर्तित समय अनुसार थप सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा महानिर्देशक किमले राजनीतिक र आर्थिक वातावरणमा भएको सुधारको प्रशंसा गर्नुभयो र वातावरण सुध्रेकोले थप काम हुन सक्ने संभावना रहेको भन्दै सहयोग बढ्ने संकेत गरे ।
उनले अख्तियार, प्रशासन र स्थानीय अवरोधका कारण परियोजनाहरु सञ्चालन गर्न अप्ठेरो भैरहेकोले त्यसमा गम्भीर रुपले ध्यान दिन अर्थमन्त्री डा महतसमक्ष आग्रह गरे ।
सो अवसरमा अर्थमन्त्री डा महतले आफू अर्थतन्त्रमा ठूलो प्रभाव दिने ठूलो परियोजना सञ्चालनको पक्षमा रहेको र बैंकलाई बिगतमा पनि यस्तो आग्रह गरेको बताए ।
उनले काम गर्ने वातावरण निर्माण भैरहेकोले नेपालले बैंकबाट पाउँदै आएको सहयोग बढी उपभोग गर्न सक्ने उल्लेख गरे ।
बैंकको हालसम्मको लगानी करिब २ अर्ब ९७ करोड डलर रहेको छ । ठूला परियोजनाहरुमा लगानी गर्न शुरु गरिसकेको बैंकले तनहुँ जलबिद्युत आयोजनामा करिब १५ रुपैयाँ लगानी गर्ने प्रतिवद्धता अनुरुप काम अगाडि बढिसकेको छ ।
Comments are closed.