अदालत परिसर भित्र गएर पत्रकारलाई पक्राउ गर्न मिल्दैन : सभापति देउवा

387
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरेको भन्दै आपत्ति जनाए । आईतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बुढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै देउवाले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने बताए ।

सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने बताए ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।


  •  
  •  
  •