संजय दत्त जेलबाट रिहा

543
  •  
  •  
  •  

काठमाडौँ, १३ फागुन(एजेन्सी) : बलिउडका नायक संजय दत्त बिहीबार बिहान जेलबाट छुटेका छन् । पुणेको यरवाडा जेलमा रहेका उनी बिहीबार बिहान छुटेका हुन् । उनलाई अवैध हतियार राखेको आरोपमा ५ वर्षको सजाय सुनाइएको थियो ।

पत्नी मान्यता दत्त, चलचित्र निर्माता राजकुमार हिरानीले संजय दत्तलाई जेल बाहिर लिन पुगेका थिए । उनीहरू चार्टर्ड प्लेनबाट मुम्बई गएको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । यसअघि उनको विरोधमा जेल बाहिर केही मानिसले विरोध प्रदर्शन गरेका थिए ।

नायक संयज दत्त सन् १९९३ को बिस्फोटपछि एके-४७ र अर्को एक हतियार राखेको आरोपमा पक्राउ परेका थिए । उनलाई टाडाको अदालतले दोषी ठहर्याउँदै ५ वर्षको जेल सजाय सुनाएको थियो ।

नायक दत्तले आफूविरूद्वको आरोप खारेज गर्नका लागि सर्वोच्च अदालतमा पनि अपिल गरेका थिए तर, सर्वोच्च अदालतले उक्त अपिल खारेज गरेको थियो । अदालतले १८ महिना जेल सजाय काटिसकेकाले बाँकी ४२ महिनाको जेल सजाय काट्नुपर्ने बताएको थियो ।

यसपछि उनलाई २१ मे २०१३ मा पुणेको यरवाडा जेलमा लगिएको थियो । जेलको उनको व्यवहार राम्रो भएका कारण उनलाई १ सय ३ दिन अगाडि नै जेलबाट छुटकारा दिइएको हो ।

नायक दत्त जेलबाट छुटेपछि उनको घरमा विषेश योजना बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार उनका नजिकका साथी अजय देवगण, अपूर्व लाखिया, राजकुमार हिरानी, विधु बिनोद चोपडा, बंटी बालिया र रजत रवैल संजय दत्तको पालीहिलमा रहेको घरमा पुग्नेछन् ।

यस्तै, सलमान खान पनि संजयको वेलकम पार्टीमा पुग्न सक्ने बताइएको छ ।


  •  
  •  
  •