२० लाखको अक्षयकोष स्थापना

269
  •  
  •  
  •  

रुपन्देही । समाजसेवी रामकाजी गुरुङले २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

बुटवल ईटा भट्टी निवासी ९३ वर्षीय रामकाजी गुरुङले कालिका मानवज्ञान माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी २० लाख रुपैयाँको ‘रामकाजी मनकुमारी कल्याणकारी अक्षयकोष’ स्थापना गरेका हुन् ।

अक्षयकोष सञ्चालन र छात्रवृत्ति वितरण सम्बन्धमा विद्यालयमा आयोजित विद्यार्थी सम्मान तथा अक्षयकोष हस्तान्तरण कार्यक्रममा अक्षयकोषदाता रामकाजी गुरुङ र कालिका मानवज्ञान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिले समझदारीपत्र आदान प्रदान गरे ।

समझदारी पत्र अनुसार २० लाख रुपैयाँ मूल राशि भएको अक्षयकोषको ब्याज बापतको रकमले हरेक वर्ष विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने उल्लेख छ । अक्षयकोषबाट कक्षा १२ का सर्वोत्कृष्ट विद्यार्थीलाई ९० हजार रुपैयाँ, द्वितीय हुनेलाई १० हजार रुपैयाँ, एसईईमा सर्वोकृष्टलाई ५० हजार रुपैयाँ र १० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई जनही एक÷एक हजार रुपैयाँ छात्रवृत्ति वितरण गर्ने र ब्याज रकमबाटै कार्यविधि बनाएर हरेक वर्ष सामुदायिक विद्यालय र शिक्षाको बारेमा उत्कृष्ट रिपोटिङ गर्ने पत्रकारलाई सम्मान गर्ने गुरुङले बताए ।

गुरुङले स्थापना गरेको अक्षयकोषसँगै कालिका मानवज्ञान माविमा स्थापित अक्षयकोषको संख्या ३९ पुगेको छ । विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषको मूल राशि ५९ लाख ९१ हजार ११३ पुगेको छ ।

यी अक्षयकोषहरुबाट विद्यालयले हरेक वर्ष ११८ जना विद्यार्थीलाई छात्रवृत्तिका साथै ६ जना शिक्षक, एक जना अभिभावक, ३ जना खेलाडी र २ जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा अक्षयाकोष दाता गुरुङलाई विद्यालयको अभिनन्दन गरेको छ । कार्यक्रममा शैक्षिक सत्र २०७५ मा विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल २३७ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


  •  
  •  
  •