ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीमा तनावग्रस्त

प्रहरीसहित ७ जना घाइते
320
  •  
  •  
  •  

कैलाली –१७ वैशाख (ओएनएस): ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार अहिले तनावग्रस्त भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट साइकलमा सवार १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। रावलको घटना स्थलमै मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।

अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ। बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन्। सडकमा टायर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र हवाई फायरसमेत गरेको छ।

आन्दोलनको क्रममा रबरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ। झडपमा प्रहरी र आन्दोलनमा उत्रिएका स्थानीय गरी ७ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उचार भइरहेको कैलालीका एसपी आभुषण तिमल्सिनाले बताए।

घटनापछि चालक फरार छन्। सडक सुचारुका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।


  •  
  •  
  •