कसरी भयो जुम्लामा दुर्घटना ?

166
  •  
  •  
  •  

काठमाडौं ३ चैत ।  जुम्लामा भएको बस दुर्घटनामा सोमबार १८ जनाले ज्यान गुमाए । जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले दुर्घटनाको कारण गाडीको स्टेरिङ फेल र प्राविधिक समस्या हुन सक्ने अनुमान सञ्चार माध्यममा गरे । त्यसमाथि पनि यो सडक खण्डमा सञ्चालित सवारी पुराना छन् भन्ने गुनासो स्थानीयले सञ्चार माध्यममा गर्दै आएका छन् । पछिल्लो दुर्घटनासँगै यस वर्ष दुर्घटनामा परी मुलुकभर झन्डै एक हजारको अकालमा ज्यान गुमेको तथ्यांक छ । यसबाटै प्रस्ट हुन सकिन्छ, सवारी साधन चढ्नु नेपालमा ‘मृत्यु लोक’को यात्रा जस्तै बन्न पुगेको छ ।

मंसिरसम्ममा झन्डै ९ सयले ज्यान गुमाएपछि सरकारले कसरी दुर्घटना न्यूनीकरण गर्ने भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा मंसिर २५ मा उच्चस्तरीय कार्यदल गठन गर्‍यो । कार्यदलले ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रतिवेदन’ मा यातायात क्षेत्रमा व्यापक फेरबदल गर्नुपर्ने औंल्याएको थियो । दुर्घटनाका कारणहरूमा अन्यसँगै प्रतिवेदनले प्राविधिक पक्षलाई पनि समेटेको थियो । कार्यदलले मन्त्रिपरिषद् कार्यालयमा पुसमै प्रतिवेदन बुझाएको थियो । र, मन्त्रिपरिषदले ‘तुरुन्त लागू गर्नू’ भनेर निर्देशन पनि दिएको थियो ।

एक महिनाभन्दा बढी समयको अध्ययनबाट बनेको प्रतिवेदन मन्त्रालय र यातायात व्यवस्था विभागको कार्यालयमा थन्किएर बसेको छ । आफैंले बनाएको प्रतिवेदन सरकारले लागू गर्न नसक्दा जुम्लामा जस्तै दुर्घटनाहरू भइरहेका छन् । प्रतिवेदनमा सवारी दुर्घटनाका कारणहरूमा सवारी साधनको अवस्था तथा यान्त्रिक कारण पनि प्रमुख रहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘सवारी साधनको नियमित मर्मतसम्भार तथा परीक्षण नगर्ने प्रवृत्ति, सामान्य बिग्रेको सवारी साधनको मर्मत नगरी जबरजस्ती चलाउने मनोवृत्ति, सकभर गुणस्तरीय लुबि्रकेन्ट तथा स्पेयर पाटर््सको प्रयोग नगर्ने प्रवृत्ति, सवारी साधन मर्मतको उचित तथा गुणस्तरीय वर्कसपको कमी, सवारी साधनको मर्मत एवं सुधारमा गुणस्तरीय सामानको न्यून प्रयोग आदि हुन् ।’

प्रतिवेदनमै यसको न्यूनीकरणका उपाय पनि सुझावका रूपमा रहेका छन् । ‘सवारी चालकलाई अनुमतिपत्रका लागि लिइने प्रशिक्षणकै क्रममा सवारी साधनको यान्त्रिक तथा प्राविधिक सीपसहितको तालिम अनिवार्य गर्ने, सार्वजनिक तथा ठूला सवारी साधनका सहचालकलाई समेत यान्त्रिक ज्ञानको सामान्य तालिम दिने व्यवस्था मिलाउने, सवारी साधन सञ्चालनको दूरी एवं अवधिका आधारमा नियमित मर्मतसम्भार तथा यान्त्रिक परीक्षण गर्ने अनिवार्य व्यवस्था गर्ने, सवारी साधन चलाउनुअगाडि यान्त्रिक तथा लुबि्रकेन्टको अनिवार्य चेक जाँच गरी सोको रेकर्ड राख्ने व्यवस्था मिलाउने,’ सुझावमा भनिएको छ, ‘सवारी साधनमा गुणस्तरयुक्त स्पेयर पार्ट्स एवं लुबि्रकेन्टको प्रयोग गर्ने, सवारी साधनको तोकिएको निकायबाट यान्त्रिक परीक्षण एवं प्रदूषण चेक जाँच गराउनुपर्ने, तोकिएको समयावधि नाघेका सवारी साधनको प्रयोगलाई नियन्त्रण गर्ने र यसका लागि स्पष्ट मापदण्ड तयार गरी लागू गर्ने ।’

यस्तै, उच्च जोखिम क्षेत्रको पहिचान गरी सुधारका लागि कार्यक्रम सञ्चालन गर्ने, अत्यधिक दुर्घटना हुने क्षेत्र पहिचान गरी न्यूनीकरणका निमित्त आवश्यक उपाय अवलम्बन गर्नुपर्ने, सडकमा सवारी सञ्चालनका निमित्त गति निर्धारण गरी नियन्त्रणका लागि पर्याप्त संकेत चिह्नहरू एवं अन्य प्राविधिक उपाय अवलम्बन गर्ने -डेलिनेसन पोस्ट र ब्यारियरको व्यवस्था) जस्ता कुरा दुर्घटना न्यूनीकरणका उपाय प्रतिवेदनमा छन् ।

जुम्ला घटनाको प्रवृत्ति हेर्दा प्राविधिक कारणले दुर्घटना भएको देखिन्छ । र, यसबारे सरकार पहिले नै जानकार छ भन्ने सरकारी प्रतिवेदनबाटै प्रस्ट हुन्छ । प्रतिवेदनमा सवारी जाँचबुझका लागि मापदण्ड तोक्न सकिने भन्दै तोकिएको किमि/रूटमा प्रयोगपश्चात् अनिवार्यरूपमा गाडीको यान्त्रिक अवस्था, प्रदूषण, सवारी चलाउन सकिने अवस्था सम्बन्धमा कडाइका साथ लागू गर्नका लागि निम्न व्यवस्था गर्ने भनिएको छ । त्यसमा लेखिएको छ, ‘सवारी साधनको यान्त्रिक परीक्षण सम्बन्धी मापदण्ड तयार गरी लागू गर्ने, यान्त्रिक परीक्षणसम्बन्धी कार्यलाई यातायात सञ्चालनको अभिन्न अंग मान्ने र नियमित यान्त्रिक परीक्षणका लागि खुला प्रस्तिपर्धाका आधारमा परीक्षण केन्द्र छनोट गरी निजी क्षेत्रबाट सञ्चालन गर्ने व्यवस्था मिलाउने ।’

सरकारले निकालेको निचोड, समाधानका उपाय र गर्नुपर्ने कार्यलाई उसैले कार्यान्वयन नगर्दा दुर्घटना बढ्न गएका हुन् । प्रतिवेदनबाट निस्केको निचोडअनुसार सरकारले मुलुकका सम्पूर्ण सडक मार्गमा काम गरेको भए सोमबारको दुर्घटना सायद हुँदैन थियो । सरकारले यो कारणले दुर्घटना हुन्छ भनेर थाहा पाउँदापाउँदै पनि त्यसको समाधान गर्न सकेन ।
कान्तिपुरबाट


  •  
  •  
  •