बस दुर्घटना ‘रक्‍सी पिएर’ चालकलाई कर्तव्‍य ज्‍यान मुद्दा

266
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक । काठमाडौं : चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी हाँक्दा बबरमहलमा बस दुर्घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मापसे गरी बस हाँक्ने सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई प्रहरीले कडा दफा लगाएर सरकारी वकिल कार्यालयमा मुद्दाको मिसिल बुझाएको छ।

मुलुकी ऐनको सवारी ज्यान मुद्दाको १६१(१) अन्तर्गत कारबाही गर्न प्रहरीले सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ। उक्त दफामा चालकले जानीजानी लापरबाही तवरले सवारी हाँकेर दुर्घटना गराएको अवस्थामा कर्तव्य ज्यान मुद्दासरह कारबाही गर्न सकिने व्यवस्था छ।

प्रहरीले सोहीअनुसारको राय सरकारी वकिल कार्यालयलाई दिएको छ। ‘हामीले अनुसन्धान पूरा गरेर बसचालकलाई कडा दफा लगाएर कारबाही गर्न सरकारी वकिल कार्यालयमा मिसिल बुझाएका छौं। अब जे गर्छ, वकिल कार्यालयले नै गर्छ’, वृत्तका डीएसपी सन्तोष खड्काले भने। प्रहरीले माग दाबी गरेको मुद्दामा चालक तामाङमाथि १० वर्षसम्म कैद सजाय तोकिएको छ।

गत असोज २७ गते साँझ धुलिखेलबाट पुरानो बसपार्कतर्फ आइरहेको बा१ख ८६७६ नम्बरको बसले विपरीत दिशामा गुडिरहेको चार मोटरसाइकलाई ठक्कर दिएको थियो। आफ्नै लेनमा गुडिरहेका मोटरसाइकललाई सोहोरेर बस आफैं पनि पल्टिएको थियो।

बसले थिचेर बाराका मकदुल मियाँ ठकुराइन, सर्लाही बर्दिबासका तिलककुमार गौतम र महोत्तरीका रुद्र गौतमको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। तीव्र गतिको बस नियन्त्रणमा लिन ब्रेक लगाउँदा पल्टिएको थियो। दुर्घटनापछि बौद्धस्थित आफन्तको घर पुगेका तामाङलाई प्रहरीले भोलिपल्ट डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •