खोटाङ, ३० चैतै (ओएनएस) खोटाङमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । दुर्घटनामा परी १५ पुरुष र सात महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान काठमाडौंका लागि छुटेको बस काभ्रेपानी र बर्खेटारबीचको भीरमा दुर्घटना भएको हो । दुर्घटना बिहान करिब आठ बजेको समयमा भएको थियो ।
सदरमुकाम दिक्तेलबाट काठमाडौं गुडिरहेको बा २ ख ६३ ७६ नम्बरको बस साढे ८ बजे महादेवस्थान–१ बर्खेटारको काभ्रेभीरमा दुर्घटना भएको हो बस सडकबाट करिब ५०० मीटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बस चालक काठमाडौँका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई र उनका छोरा ओमश्री, उदिम राई, हेम सुनुवार, भविन राई तथा बजुनारायण श्रेष्ठको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए । यस्तै खोटाङका विमला राई, सन्तोष कटुवाल, सुरेन्द्र राई, मेजर राई, भैरव राई, नेत्रकुमारी राई, गोविन्द तिमिल्सेना र खम्बबहादुर राई तथा सोलुखुम्बुका सुस्मा राई र सोम सुन्दासको समेत मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने देखिएको छ । शुरुमा २८ जना बसमा रहेपनि बाटोमा यात्रु थपिंदै जाँदा करिब ७० जना पुगेका थिए । क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।२० घाइतेलाई काठमाडौं ल्याइएको छ ।
सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पुर्याएका छन् । घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ ।