काठमाडौं १५फागुन ।
कालिकोटमा भएको जहाज दुर्घटनाको उद्धारमा ढिलाई हुँदा पाइलटले ज्यान गुमाउनु परेको छ । नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज शुक्रबार दिउँसो चिलखायामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनापछि समयमै उद्धार हुन नसक्दा गम्भीर घाइते भएका जहाजका दुबै चालकको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । जहाजमा समस्या देखिएपछि चालकले गहुँबारीमा आकस्मिक अवतरण गराउने क्रममा जहाजको अगाडिको भाग भित्तामा ठाकिएको थियो ।
सो क्रममा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना गम्भीर घाइते भएका थिए । उनीहरुको समयमै उपचार हुन नसक्दा मृत्यु भएको हो । घटनास्थल जिल्ला सदरमुकामबाट टाढा भएको र उद्धारका लागि समेत हेलिकोप्टर समयमा पुग्न नसकेपछि दुबै पाइलटको मृत्यु भएको स्थानीय शिवालय उच्च माविका लेखापाल अजबहादुर खत्रीले बताए ।
‘जहाज बारीमा खसेपछि हामीले हतारमा सबैलाई बाहिर निकाल्यौं, अगाडिको भागमा बढी क्षति भएकाले पाइलटहरुलाई बढी चोट लागेको थियो’, उनले भने, ‘हामीले स्थानीयस्तरमा सकेजतिको उपचारको प्रयास गर्यौं, तर पाइलटलाई बचाउन सकेनौं ।’
उनका अनुसार सुरुवातमा न्यौपानेको ज्यान गएको थियो भने घटना भएको केही समयपछि रानाको ज्यान गएको थियो । रानाले आफूलाई बचाउनका लागि गाउँलेसँग इशारामार्फत आग्रह गरेका थिए । लेखापाल खत्रीका अनुसार रानाले बोल्न भने सकेका थिएनन् । दुर्घटनाको एक घण्टापछि रानाको मृत्यु भएको थियो । खत्रीले समयमा नै प्रहरी र सरकारी अधिकारीहरु उद्धारका लागि नपुग्दा पाइलटले उपचार नै नपाएर ज्यान गुमाउनु परेको बताए ।
दुर्घटना भएको करिब दुई घण्टापछि मात्र मुगुबाट उद्धारका लागि हेलिकोप्टर पुगेको थियो भने प्रहरी चौकी पाग्म र खल्लागाढबाट समेत प्रहरी पुगेका थिए । ९ एन एजेबी कलसाइन भएको काष्ठमण्डप एयरको यो जहाज नेपालगन्जबाट नौजना यात्रु लिएर मध्यान्ह १२ बजे जुम्लाका लागि उडेको थियो ।
जुम्ला जाने क्रममा प्राविधिक समस्या आएपछि चिलखायाको गहुँबारीमा आकस्मिक अवतरण गर्ने क्रममा यो जहाज दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
अन्य यात्रु पनि घाइते भएका छन् । घाइते भएका सबै नौं जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगंज लगिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी माधव नेपालले जानकारी दिए ।
जहाज दुर्घटना भएपछि स्थानीय बासिन्दाहरुले नै उद्धार गरेर प्राथमिक उपचार गरेका थिए । दुर्घटनापछि कालिकोट सदरमकामबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको भएको घण्टौंसम्म पनि उद्धारका लागि सरकारी टोली नपुगेपछि घाइतेहरुबीच रुवाबासी नै चलेको थियो । अन्नपूर्णपोष्टबाट