जाजरकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु, एक जना वेपक्ता

101
  •  
  •  
  •  

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना भएको छ । सदरमुकाम खलंगाबाट जुनीचाँदेको परालेका लागि हिँडेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे–१ औलखोलामा बुधबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा वडाअध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना खोलामा बगेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय खेमराज शाही र कृष्णबहादुर शाही रहेका छन् ।

यस्तै, अन्दाजी ३५ वर्षीया मालिका बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ । जीप सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका लालबहादुर बुढा बेपत्ता छन् ।

दुर्घटनामा घाइते भएका नरबहादुर बुढालाई उपचारका लागि सुर्खेत लगिएको छ । घटनास्थलमा प्रहरी चौकी पञ्चाला, इलाका प्रहरी कार्यालय बडावनको टोली पुगेको छ ।


  •  
  •  
  •