सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका–७ को छ किलो भन्ने स्थानमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाकै सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु भएका दोलखाको शैलुङेश्वरी गाउँपालिका फस्कुका चिनु बस्नेत, रामेछापका सुनपानी गाउँपालिका ६ की जुनुमाया तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की सुनिता तामाङको परिचय खुलेसँगै १५ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दुर्घटनमा अन्य मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।
त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसी रहेका छन् ।
दोलखाको कालिञ्चोक तीर्थ यात्रामा गएर फर्केको बा.४ ख ४४६८ नम्बरको बस दुर्घटनामा अन्य १९ जना घाइते भएका थिए । घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।