मातेर कार कुदाउँदा…

135
  •  
  •  
  •  

काठमाडौं १६ पुस ।
मध्यपुरथिमि- ३ सिन्चिटारकी देवकी थापाको मोबाइलमा सोमबार राति पौने १ बजे मातातीर्थस्थित माइतीबाट फोन आयो, ‘बुवा सिरियस हुनुहुन्छ, मुख हेर्ने भए चाँडै आउनू ।’

उनी दुई छोरी, एक छोरा र श्रीमान्सँगै सुतिसकेकी थिइन् । खबरले आत्तिएर मध्यरातमा श्रीमान् जीवनसँगै बा१७प १९४१ नम्बरको मोटरसाइकलमा निस्किइन् । सुतेका छोराछोरीसँग राम्ररी कुरा गर्नसमेत भ्याइनन् ।

घरबाट निस्केको १५ मिनेट नबित्दै उनीहरू चढेको मोटरसाइकल दुर्घटनामा पर्‍यो । रक्सीले मातेका आदित्य अग्रवालले हाँकेको बा९च ६५६४ नम्बरको कारले लोकन्थली मनोहरा पुलमा पुगेपछि १:२० बजे उनीहरूलाई ठक्कर दियो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्‍याइएकी देवकीलाई चिकित्सकले मृत घोषणा गरे । ‘उनले न बुवा भेट्न पाइन्, न त छोराछोरी नै,’ मृतकी देउरानी किरणले भनिन्, ‘सधैंका लागि हामीलाई छाडेर गइन् ।’ देवकीको माइतीमा अभिभावकसँगै छोरी गुमाउँदा पीडा पनि थपिएको छ ।

जीवनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.रामकृष्ण श्रेष्ठले उनी खतरामुक्त रहेको बताए । ‘टाउको र घाँटीको सिटिस्क्यान गरेर हेर्‍यौं, त्यस्तो खतरा केही देखिएको छैन,’ उनले भने, ‘घुँडाको भित्री हड्डी टुक्राटुक्रा भएको छ । बुधबार शल्यक्रिया गर्दैछौं ।’

थापा दम्पती चढेको मोटरसाइकललाई ठक्कर दिने कार चालक आदित्य अग्रवाल रक्सीले मातिएपछि ‘रिफ्रेस हुन’ भक्तपुर पुगेर फर्कंदै थिए । महाराजगन्जका २५ वर्षीय आदित्य, रातोपुलका २३ वर्षीय शुभम अग्रवाल र चाबहिलका २३ वर्षीय आशिष अग्रवाल सोमबार साँझ ठमेलस्थित रिफ लाउन्च होटलमा मदिराले लठि्ठएपछि ‘रिफ्रेस हुन भक्तपुर गएको’ स्वयं उनीहरूले प्रहरीलाई बयान दिएका छन् । ‘मध्यरातमा तीव्र गतिमा रहेको निजी गाडी भक्तपुर गएको थियो, तत्काल फर्कियो,’ घटनाका बेला अरनिको राजमार्ग गस्तीमा खटिएका एक प्रहरीले भने, ‘गठ्ठाघरमा रहेका प्रहरीले कार तीव्र गतिमा रहेकाले निगरानी गर्न अघिल्लो चेकप्वाइन्टलाई आग्रह गर्दै सेटमा बोलेको एक मिनेट नबित्दै दुर्घटना भयो ।’

लोकन्थली मनहरा पुलको प्रहरी बिटअगाडि मोटरसाइकललाई ठक्कर दिएको कार दुर्घटनास्थलबाट करिब ३० मिटर पर पुगेर मात्र रोकिएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा कारको अगाडिको भागमा क्षति पुगेको छ । मोटरसाइकलका पार्टपुर्जा कारमा अडकिएका छन् । लाइसेन्स नम्बर ०६२३७२४६ रहेका कार चालक आदित्य र अन्य दुई जनाले मदिरा सेवन गरेको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको छ । उनीहरूको थिमिस्थित कोरियन अस्पतालमा परीक्षण गरिएको थियो ।

कार चालक आदित्यले यसअघि पनि मदिरा सेवन गरेर सवारी चलाउँदै आएको देखिन्छ । ०६६ माघमा लिएको उनको लाइसेन्स मदिरा सेवन गरेकै कारण यसअघि चार पटक कारबाहीका क्रममा प्वाल परिसकेको छ । ‘मापसे गरेर भक्तपुर घुम्न निस्कँदा दुर्घटना भएको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वसन्त पन्तले मदिरा सेवन गरेर सवारी चलाउँदा जरिवाना कम भएकाले लाइसेन्स प्वाल पार्दा पनि घटना दोहोरिन नछाडेको बताए । ‘एक हजार रुपैयाँ जरिवाना तिरेर लाइसेन्स प्वाल पार्नेबाहेक कारबाहीको अरू कुनै व्यवस्था छैन,’ उनले भने ।

राति ११ बजेपछि सडकमा ट्राफिकको चेकजाँच नहुने र सडक खाली हुने भएकाले मदिरा सेवन गरेर चलाउनेको संख्यामा अझै पनि कमी आउन सकेको छैन । रातको समयमा तीव्र गतिमा सवारी चलाउँदा पनि सडकमा भएका प्रहरीले जाँच नगर्दा यस्ता घटना हुने गरेको सर्वसाधारणको गुनासो छ ।

थापा दम्पती दुर्घटनामा परेको खबर मंगलबार साँझसम्म छोराछोरीलाई दिइएको थिएन । १५ वर्षीया जेठी छोरी स्नेहा अपराह्न घरको छतमा पढिरहेकी थिइन् । उनी यस वर्षको एसएलसी दिने तयारीमा छिन् । १३ वर्षीया कान्छी छोरी स्मृति र ११ वर्षीय छोरा स्पर्श घरबाहिर सडकमा खेलिरहेका थिए । ‘मामाघरको हजुरबुवा बित्नुभएकाले उहाँहरू जानुभएको छ,’ स्मृतिले भनिन् । उपचाररत जीवनलाई पनि श्रीमतीको मृत्युको खबर साँझसम्म थाहा दिएको थिएन ।

छोराको पीडालगत्तै श्रीमती १४ महिनाअघि एउटा छोरा पोखरीमा डुबेर मृत्यु भएपछि थापा परिवारमा पीडा थियो । कतारमा रहेका जीवन छोराको बखरीका लागि गत भदौमा घर आएका हुन् । उनका जुम्ल्याहा छोरा र दुई छोरी हुन । खेल्ने क्रममा बोडेस्थित पोखरीमा डुबेर मृत्यु भएको पीडा कम हुन नपाउँदै पत्नी गुमाउनु परेको अर्को पीडा थपिएको छ । जेठी छोरी एसओएसमा १० कक्षामा, कान्छी छोरी बोडेकै एडभान्समा ७ कक्षा र छोरा ४ कक्षामा पढदै छन् । देवकीको मृत्युपछि पूरै टोल शोकमा छ । ‘आज टोलमा कसैको घरमा पनि चुल्होमा आगो बलेको छैन,’ स्थानीय दुर्गा खड्काले भनिन् ।

छोराछोरीलाई थाहा नहोस् भनेर मृतकको घरमा भीडभाड छैन । गाउँका सबैजसो व्यक्ति प्रहरी कार्यालयमा दबाब दिन आएका थिए । उचित क्षतिपूर्ति र चालकलाई कारबाही माग गर्दै प्रहरी कार्यालयअगाडि टायर बालेर विरोध गरिरहेका थिए । प्रहरीले चालकसहित तीन जना र कारलाई नियन्त्रणमा लिएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •