अर्घाखाँची बस दुर्घटना : प्रदेश सरकारद्वारा दुःख व्यक्त

612
  •  
  •  
  •  

रुपन्देही ।  प्रदेश ५ सरकारले अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबहाक बस दुर्घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको खबरले स्तब्ध बनाएको जनाएका छन् ।

बुधबार अपरान्ह सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन भएको छ भने १६ यात्रु घाईते भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै,घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ । ‘सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवतिले पनि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै चालकलाई दुर्घटना जोखिमबारे सचेत गराइरहने कार्यक्रम चलिरहेको प्रदेश सरकारले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बढ्दो दुर्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने प्रदेश सरकारले उल्लेख गरेको छ ।  यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकाय एकताबद्ध भई अघि बढ्न अपिल समेत गरिएको छ ।

दुर्घटना लगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गरिएको छ ।


  •  
  •  
  •