दुर्घटनापछि यसरी हुन्छ गल्ती

232
  •  
  •  
  •  

काठमाडौं ६ पुस ।
काडमाडौं : सडक दुर्घटनापछि उद्धारकर्ताले तत्काल गर्नुपर्ने काम, घाइतेलाई कहाँ लैजाने, दुर्घटनाको जानकारी कसलाई गराउने, उद्धार उपकरण, उपचारमा लापरबाही, विशेषज्ञ एवं ट्रमा सेवाको अभाव र जानकारी नहुँदा धेरै घाइतेको ज्यान जाने गरेको छ। दुर्घटनापछि उद्धार र उपचारमा हुने सानोभन्दा सानो गल्ती र असावधानीले घाइतेले ज्यान गुमाउनुपरेको अहिलेको यर्थाथ हो।

पहिलो गल्ती

दुर्घटना भएको कसैले देखिहाले भने पनि कहाँ र कसलाई खबर गर्ने भन्ने जानकारी नहुँदा कोही उद्धारमा अघि सर्दैन। एम्बुलेन्सको हटलाइनबारे सर्वसाधारणलाई जानकारी छैन।

थाहा पाएर खवर गरिहाले पनि उद्धार टोली ढिलो आउँछ। जनचेतना अभावमा समयमै उपचार हैन, उद्धार गरेर अस्पताल समेत पु:याउन नसकिएको शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रतापनाराय नारायण साह बताउँछन।

दोस्रो गल्ती

उद्धारमा खट्ने एम्बुलेन्समा घाइतेलाई जोगाउन अत्यावश्यक उपकरण हुनुपर्छ तर नेपालका अधिकांश एम्बुलेन्सले बिरामी ओसार्नेमात्रै काम गर्छन। अधिकांश एम्बुलेन्सका चालकले आधारभूत ट्रमा तालिम लिएका छैनन।

‘दूर्घटनामा परेर कोही उठ्न सकेन भने हतारहतारमा चार हात खुट्टा समातेर झोलुङ्गो झुन्ड्याएजसरी ट्याक्सीमा खाँदेर अस्पताल लगिन्छ,’ वीर अस्पतालका हाड जोर्नी रोग विशेषज्ञ डा. गणेश गुरुङले भने, ‘त्यतिन्जेल भाँचिन लागेका र फुस्किएका शरीरका हड्डी पनि काम नलाग्ने हुन्छन्, उनीहरुले ज्यान गुमाउन बाध्य हुन्छन।’

घाइतेको सुरक्षित उद्धारका लागि काडिर्याक मोनिटर, भेन्टिलेटर, अक्सिजन, सलाइनसहितको एम्बुलेन्समा तालिम प्राप्त स्वास्थ्यकर्मी खटाइनु पर्ने भए पनि बजेट र जनशक्ति अभाव भएको भएको भन्दै सरकार झारा टार्छ।

‘उद्धार टोलीले घाइतेको अवस्थालाई स्थिर (स्टेबल) राखेर अस्पताल पुराउने कुरा सबैभन्दा महत्वपूर्ण छ, त्यसमा ध्यान नदिँदा बाटोमै उनिहरुले ज्यान गुमाउँछन’, काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक हाडजोर्नी विशेषज्ञ डा. अशोक बज्राचार्यले भने, ‘दुर्घटनाको प्राइमरी क्षति रोक्न नसके पनि सेकेन्डरी क्षतिबाट घाइतेलाई बचाउन सकिन्छ।’

एम्बुलेन्स पुग्न नसक्ने विकट ठाउँमा यस्तो आकस्मिक सेवाका लागि हवाई एम्बुलेन्स पठाउनेबारे सरकारी निकायमा छलफल समेत सुरु नभएकामा भरतपुर अस्पतालका अर्थोपेडिक कन्सलटेन्ट डा. रुद्रप्रसाद मरासिनी चिन्तित छन। उनका अनुसार चोटअनुसारका घाइतेलाई कुन अस्पताल लैजाने र त्यहाँ कसरी उपचार गर्ने भन्ने समन्वय नहुँदा धेरै ढिला भइसकेको हुन्छ।

तेस्रो गल्ती

सामान्य नागरिकलाई समेत थाहा हुनुपर्ने ट्रमाको प्राथमिक सेवामा स्वास्थ्यकर्मी नै अनविज्ञ छन्। ‘ट्रमा सेवाबारे थोरै स्वास्थ्यकर्मी तालिम प्राप्त छन्, घाइतेलाई सुरुमा कस्तो उपचार गर्ने उनीहरु जानकार छैनन्, थप उपचारका लागि अस्पताल रिफर गर्न पनि लापरवाही हुन्छ,’ मरासिनीले भने, ‘उद्धार गरेका सामान्य घाइतेलाई सम्बन्धित सेवा नभएको अस्पतालमा घण्टौ अलपत्र पारिन्छ अनि कसरी बाँच्छन उनीहरु? हात भाँचिएको छ भने उसको जीवन सुरक्षा महत्वपूर्ण हुन्छ, पीँडा कम गर्ने औषधि चलाउने, मुटु, फोक्सोको काम हेर्ने, श्वाप्रश्वास, रक्तचाप बुझन छोडेर घाइतेलाई एक्सरेका लागि पैसा तिर्न कुदाइन्छ।’

ट्रमा सेवा छैन अञ्चल/जिल्ला अस्पतालमा

ढिलो गरी अस्पताल पुराएका घाइतले पनि तत्काल विशेषज्ञ सेवा नपाउँदा ज्यान गएका धेरै उदाहरण छन् । विशेषज्ञ ट्रमा सेवाका लागि सबै विशेषज्ञ सम्लित चिकित्सक चाहिन्छ।

नेपालका, जिल्ला, अञ्चल, क्षेत्रिय कुनै अस्पतालमा पनि त्यस्तो सेवा प्रभावकारी छैन। ‘जिल्ला अस्पताल नाम मात्रका छन्, जहाँ अर्थो, न्युरो, एनेस्थेसिया, जनर्रल सर्जन, फिजिसियन कोही हुँदैनन्, ट्रमा सेवाका लागि यो नभई हुँदैन,’ साहले भने, ‘सेवा दिन नसक्दा तत्काल रिफर गर्नुपर्छ, तर पैसाको डरले भए पनि अन्त पठाइन्न।’

साहले काठमाडौंकै ठूला अस्पतालको आकस्मिक सेवासमेत दयनीय रहेको बताए। ‘काठमाडौंमा रिफर गरिएका गम्भीर अवस्थाको घाइतेले पनि आइसियु वा भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गुमाउँछ, जिल्लाको त कुरै छाडौं,’ उनले भने।

सरकारी उद्धार संयन्त्र निरीह

तालिमप्राप्त सेना, प्रहरी, स्वयंसेवक, एम्बुलेन्स लगायत उद्धार टोलीलाई जतिसक्दो छिटो घटनास्थल पु:याउने र घाइतेलाई सुरक्षितरुपमा सम्बन्धीत अस्पताल लैजाने काम सरकारको हो।

छिमेकी भारतमै घाइतेलाई आकस्मिक सेवा सेवा दिन छुट्टै उद्धार टोली छ जसमा स्वास्थ्य, गृह, यातायात, सञ्चारजस्ता मन्त्रालयको समन्वय छ। ‘घाइतेको उपचार सम्बन्धी अहिलेसम्म नेपालमा कुनै निर्देशिका नै छैन,’ गुरुङले भने।

आकस्मिक उपचारमा घाइतेको पहुँच बढाउन बल्लतल्ल सुरू भएको राष्ट्रिय ट्रमा सेन्टरले उद्घाटन भएको एक महिना भइसक्दा पनि विशेषज्ञ सेवा दिन सकेको छैन।

स्वास्थ्य मन्त्री खगराज अधिकारीले त्यस्तो टोली खटाउने तयारी भए पनि दक्ष जनशक्तिको अभावमा स भव नभएको बताए। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकाल भने घाइतेको उद्धारमा ढिलाइ नभएको, बरू अस्पतालले तत्कालै उनीहरुलाई उपचार गर्न नमान्दा समस्या आएको बताउँछन।

‘हामीले आफ्नो क्षमता अनुसार काम गरिहरेका छौं, २४ सै घण्टा हाम्रो सेवा खुल्ला छ,’ ढकालले भने, ‘उद्धार गरेर लगेका घाइतेलाई अस्पतालले पैसा तिर्ने ग्यारेन्टी नगरेसम्म उपचार नै सुरु गर्दैनन, त्यो हाम्रो दोष होइन।’ उनले राजमार्ग वा जिल्लामा ट्रमा सेन्टर नहुँदा पनि घाइतेलाई बचाउन कठिन भएको बताए । ‘हामीले ठूला दुर्घटनाका घाइते लक्षित गर्दै सर्च एण्ड रेस्क्यु टिम बनाउन खोजेका छौ,’ उनले भने, ‘यसको कार्यायोजना छिट्टै मन्त्रीपरिषदबाट पास गरिनेछ।’

हालै मन्त्रीपरिसदले बागलुङमा ट्रमा सेन्टर संचालनमा ल्याउने निर्णय गरेको छ। ६ वर्ष अघि भारतले करोडौंको लगानीमा निर्माण गरिदिएको नेपालको एक मात्र राष्ट्रिय ट्रमा सेन्टर नै पूर्णरुमा संचालनमा नआएको अवस्थामा बाग्लुङमा अर्को सेन्टर कहिले बन्ला? अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •