काठमाडौं उपत्यकामा सवारी दुर्घटना बढ्दो

दश महिनामा २ सय ११ को मृत्यु
474
  •  
  •  
  •  

-ओएनएस संवाददाता-

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार विगत चार वर्षको अवधिमा उपत्यकामा सवारी दुर्घटनाकै कारण ७ सय ५७ जनाको मृत्यु भएको छ ।  जसमध्ये आर्थिक वर्ष २०७२/७३ मा ५ हजार ६ सय ६८ वटा सवारी दुर्घटनामा १ सय ६६ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २ सय ७५ जना गम्भीर घाइते भएका थिए भने ३ हजार ९ सय १ जना सामान्य घाइते भएका थिए ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा ५ हजार ५ सय ३० वटा सवारी दुर्घटनामा १ सय ८२ जनाको मृत्यु भएको थियो । जसमा २ सय १ जना गम्भीर र ३ हजार ९ सय १४ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ३ सय ८१ वटा सवारी दुर्घटनामा १ सय ९४ जनाको मृत्यु भएको थियो भने ४ हजार ३ सय ३३ जना सामान्य र २ सय १९ जना गम्भीर घाइते भएका थिए ।  पछिल्ला चालु आव २०७५/७६ को वैशाख मसान्तसम्म ६ हजार ९ सय ८२ वटा सवारी दुर्घटनामा २ सय ११ जनाको मृत्यु भएको छ भने ४ हजार ८ सय १४ जना सामान्य र २ सय ५१ जना गम्भीर घाइते भएका छन् ।

दैनिक १ हजार ५३ चालकलाई कारबाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक १ हजार ५३ चालकलाई कारबाही गर्ने गरेको छ ।  त्यसमा मादक पदार्थ सेवन गरेका चालक मात्रै ८९ जना कारबाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ ।
कारबाहीबाट दैनिक ६ सय ९६ रुपैयाँ राजस्व रकम दाखिला हुने गरेको छ ।

महाशाखाले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार पाँच सय ९८ जनालाई कारबाही गरेको छ । जसमा २६ हजार ४ सय ९ पुरुष र १ सय ९ जना महिला रहेका छन् ।

महाशाखाका अनुसार ट्राफिक प्रहरीले पछिल्ला १० महिनामा ३ लाख ८४ हजार २ सय ६ चालकलाई विभिन्न कसुरमा कारबाही गरेको छ । त्यसबाट २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजस्व दाखिला भएको महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिएका छन् ।
लेन अनुशासन उल्लंघन गरी सवारी साधन चलाएकामा ३२ हजार २७ जना पुरुष र ३ हजार १ सय ९ महिला चालक कारबाहीमा परेका छन् ।
प्रत्येक दिन औषत १ सय १२ जना लेन अनुशासन कारबाहीमा पर्ने गरेको महाशाखाले जनाएको छ ।ख
२०७४ वैशाख १ मा सुरु गरिएको हर्न कारबाहीमा २०७६ वैशाख मसान्तसम्म १२ हजार २ सय ७१ सवारी साधन परेका छन् ।
गत मंसिर ८ मा शुरु गरिएको ह्वील लक कारबाहीमा २ हजार ८ सय ७६ सवारी साधन परेको महाशाखाले जनाएको छ ।
सीसी क्यामेराको सहायताले ५ हजार ६० सवारी चालकलाई कारबाहीमा परेका छन् ।

२०७५ मंसिर २० मा सुरु गरिएको टयाक्सी कारबाहीमा १ हजार ७ सय ८७ वटा टयाक्सी परेका छन् ।
मिटरमा जान नमान्ने टयाक्सीलाई ३ हजार जरिवाना र ५ पटकभन्दा बढी कसुर गरे ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था छ ।

यसैबीच महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । दुईपांग्रे सवारी दुर्घटना धेरै हुँदा पछाडि सवार मान्छेको टाउको फुट्ने र दुर्घटनास्थलमै मृत्यु हुने जोखिम उच्च रहेकालाई यस्तो नियम ल्याउन लागिएको महाशाखले जनाएको छ ।

यस्तै ट्राफिक प्रहरी महाशाखाले आगामी दिनमा ट्राफिक व्यवस्थापनका लागि सडक रेखाकंन र कोरिडोर व्यवस्थापन, बस पकेट नियमनलाई निरन्तरता, साना सवारी साधनलाई विस्थापन, हाइ वे लाई पार्किङ निषेध गराउने, एकिकृत डाटावेस र कम्प्युटर नेटवर्किङ र सरोकारवाला निकायबीच समन्वयमा व्यापकता ल्याउने योजना अघि सारेको छ ।


  •  
  •  
  •