मकवानपुर दुर्घटना : अधुरै रह्यो उच्च शिक्षा

124
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक ।
कल्कलाउँदी छोरी इशाको मृत्युले आमा नैनकला कार्की शनिबार उज्यालो नहुँदैदेखि बेहोस् छन्। छिनमै बर्बराउँछिन्, छिनमै अचेत। उनलाई स्याहार्न छिमेकी र नाताका महिला घरभरि छन्। तर, फेसबुक टाइमलाइनमा उनै इशा मुस्कुराइरहेकी छन्। इशाका खालखाले पहिरन र भावभङि्गमायुक्त तस्बिर पोष्ट गर्दै अनेकौं साथीभाइले उनैलाई सम्झिइरहेछन्। सबैको सम्झाई ‘हार्दिक श्रद्धाञ्जली!’
ba905f61102f3b8b6931a6d6f832ef89_L

मकवानपुर बस दुर्घटनामा इशाको मृत्यु भएको खबर झिसमिसे उज्यालो नहुँदै सनसनी फैलिएपछि गोलाखर्क नजिकैको घरमा रुञ्चे मुहार पार्नेको गोलो छ। छिमेकीसहित दुर्घटनास्थल हान्निएका बुबा चक्र छोरीको शव लिएर आउने प्रतीक्षा लम्बिँदैछ। सम्भावित दुर्घटनाप्रति बेखबर इशा घरबाट नाच्दै अघिल्लो दिन दिदी जिनासँग आँगनबाटै बस चढेकी थिइन्। गन्तव्य थियो- काठमाडौं।
‘दसैंमा आएकी छोरी तिहार मनाएर फर्किँदा घरै शून्य लाग्दैथ्यो,’ सन्तान वियोगको पीडाले विह्वल नैनकला भन्दैथिइन्, ‘अब त जीवन र संसारै शून्य भयो।’ कार्की दम्पत्तिका दुई सन्तान भनेकै इशा र जिना हुन्। जेठी जिना जति गम्भीर थिइन्, कान्छी इशा उत्तिकै चञ्चल। त्यही स्वभावले उनलाई नृत्य, गायन हुँदै उद्‍घोषणसम्म अनुभवी बनायो। हाँसखेलमा जति रमाउँथिन्, पढ्नमा उत्तिकै।
इलाम एफएममा झण्डै दुई वर्ष कार्यक्रम चलाउँदा उनले जति शुभेच्छुक कमाइन्, राजधानीको सूर्यविनायक बसेर बीबीए पढिरहँदा उत्तिकै साथी बनाइन्। ‘तिहारअघि दुई जना साथी आएका थिए, इलाम घुमाएर पठाइ,’ बच्चैदेखिकी हितैषी मनिषा निरौलाले इशाबारे भनिन्, ‘नाच्न गाउन हत्ते हाल्ने, बोल्नमा फरवार्ड।’ तिहारमा सँगै खेलेको देउसीभैलो निरौलालाई अहिले खिलझैं दुखिरहेको छ।
अरु दिनजस्तै राजधानीका लागि छुटेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स मकवानपुरको बस्तीपुरमा शुभश्री डिलक्ससँग जुध्दाा इशासहित १० जनाको मृत्यु भएको थियो। आइतबार बिहान सवा २ बजेको उक्त घटनामा मेट्रोमा सवार रसियन युवती दरिया मल्चापोभासहित इलामका नौ र शुभश्रीमा सवार इटहरीकी शान्ता लुईँटेलको ज्यान गएको थियो। घाइते भएका धेरैजनाको उपचार भइरहेको छ।
ज्यान गुमाएकामध्ये छजना इशाजस्तै कल्कलाउँदा विद्यार्थी छन्, जो उच्च शिक्षा अध्ययननिम्ति इलामबाट राजधानीका कलेज पढ्दैथिए। दसैं-तिहारको लामो छुट्टीमा घर आएका उनीहरु राजधानी फर्किने क्रममा दुर्घटनाको सिकार भएका हुन्। पढाईमा अव्बल उनीहरुको अकल्पनीय मृत्युले परिवारजनमा गहिरो शोक छ। पढेका स्कुल, कलेज स्तब्ध छन्। इलाम शोकमा डुबेको छ।
धारापानीका प्रवीण आचार्यको पनि एमएम क्रेज कम थिएन। बरबोटेको रिब्स स्कुलबाट एसएलसी गर्नुअघिबाटै पूर्वका एफएममा फोन गर्दै हाजिरी जवाफमा सहभागी हुने उनले बानेश्वरको एम्विसन कलेजबाट १२ कक्षा सकेका थिए। ‘कोर्स र कोर्स बाहिरकै पढाइमा अब्बल थिए,’ उनका शिक्षक टंक खनालले सुनाए,’ उनको मृत्युले सबैलाई पीडा दिएको छ।’ प्रवीण घरका एक्ला छोरा हुन्।
नामसालिङका मिलन अधिकारी परिवारका दुईमध्ये कान्छा छोरा हुन्। २१ वर्षीय उनी आइटी विषयको चौथो सेमेष्टर पढ्दैथिए। इलाम विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण भएपछि राजधानी छिरेका उनी चाडपर्व मनाउन घर आएका थिए। नामसालिङका पूर्वअध्यक्ष याम अधिकारीका छोरा उनी पढाईमा रुचि भएका र भविष्यमा केही गर्नसक्ने सम्भावना बोकेका विद्यार्थी भएको शिक्षक सम्झन्छन्।
बस दुर्घटनमा ज्यान गुमाएका पिपलबोटेका रोशन भट्टराई राजधानीमै एमबिए दोस्रो सेमेस्टर अध्ययनरत थिए। तीन दाजुभाइमध्ये कान्छा उनले पनि इलाम विद्या मन्दिरबाटै एसएलसी गरेका हुन्। कीर्तिपुरस्थित त्रिविमा पढ्दै गरेका उनको मृत्युले पिपलबोटे क्षेत्रमा सन्नाटा छाएको छ। बुवा माधव शव लिएर घर फर्किँदा झनै रुवावासी मच्चिने स्थिति रहेको नातेदार गोपाल पौड्याल बताउँछन्।
तिल्केनीका प्रिजज दाहाल एम्बिसन कलेजबाटै विज्ञानमा १२ कक्षा सकेका विद्यार्थी हुन्। आफन्त कृष्ण दाहालका अनुसार, उच्च शिक्षा सकेर राम्रो नोकरी गर्ने सोच पालेका उनी थप अध्ययननिम्ति राजधानी जाँदै थिए। ‘पढाईमा पहिल्यैदेखि राम्रो प्रिजजप्रति परिवारको ठूलो आशा थियो,’ कृष्णले नागरिकन्युजसित भने, ‘रहरै रहर पालेको उमेरमा भएको मृत्युले सबैलाई स्तव्ध पारेको छ।’
एम्बिसन कलेजबाटै १२ कक्षा छिचोलेकी सुजाता काफ्लेको मृत्युले भानुरत्नन टोल स्तब्ध छ। एसएलसीपछि दाजु सुजनसँग राजधानी बस्दै आएकी उनी छुट्टी सकेर फर्किँदा पनि बसमा दाजुसँगै थिइन्। दुर्घटनापछि सुजन पनि घाइते छन्। छोराछोरी नै दुर्घटनामा परेको र छोरीको प्राणपखेरु उडेको खबरले मर्माहत बनेका बुबा सुरेश काफ्ले पत्नी सहित घटनास्थल गएका छन्। घर ताला लागेको छ।
आफ्नो कलेज अध्ययन गरेका विद्यार्थी दुर्घटनामा परेपछि एम्बिसन कलेज सञ्चालक विष्णु घिमिरे दुर्घटनास्थल पुगेका थिए। उनका अनुसार, बरबोटेकै विनोद रिजाललाई १५ टाँका लगाइएको छ भने नामसालिङका मनिष बुढाथोकी केही सामान्य छन्। ‘उच्च शिक्षा अध्ययरत विद्यार्थीको दुर्घटनाले ज्यान जाँदा हामी स्तब्ध छौं,’ घिमिरलेले भने, ‘आइन्दा यस्तो दुर्घटना कसैले भोग्न र देख्नो नपरोस्। नागरिकबाट


  •  
  •  
  •