धादिङ, ५ भदौ : पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट गाविस–१ स्थित मलेखु नजिकै त्रिशूली नदीमा बिहीबार बिहान एउटा ट्रक खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइते भएका छन् । मृतकको सनाखत भने हुन सकेको छैन ।
काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना १ ख ८१८२ नम्बरको ट्रक सडकबाट करिब २०० फिट तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ट्रकको आधा भाग पानी र आधा भाग जमिनमा देखिएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा पर्सा कल्याणपुरका श्रीयन्त महतो, भुवाली माझी, भरत माझी र नागेन्द्र चौधरी, पर्सा देउरानका भीमराज माझी, विनयश्वर चौधरी र नौबिसे बस्दै आएका भारतीय नागरिक साहिम रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको काठमाडौँस्थित मेगा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनको अवस्था गम्भीर रहेको उद्धारमा संलग्न प्रहरीले जानकारी दिएको छ ।