कश्मीरमा बस दुर्घटनामा ३५ जनाको मृत्यु

326
  •  
  •  
  •  

एजेन्सी । भारत प्रशासित कश्मीरको किश्तवाड जिल्लामा सोमबार बिहान मिनी बस दुर्घटना भएको छ ।
दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । बस ठूलो भीरमा खसेको छ ।

दुर्घटना स्थलमा पुगेका स्थानीय बासिन्दा । तस्बिर : बीबीसी

किश्तवाड जिल्लाका प्रहरी उप–प्रमुख अंगरेजसिंह राणाले २० यात्रुको मृत्यु भएको पुष्टि गरे पनि स्थानीय बासिन्दा तथा अस्पताल स्रोतका अनुसार उपचारका लागि आएका घाइते यात्रुहरुको समेत मृत्यु भएको बीबीसीले जनाएको छ ।
जम्मुको अस्पताल स्रोतले भने दुर्घटनाबाट मृत्यु हुने ३० भन्दा बढी यात्रु रहेको जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए, जो किश्तवाडबाट केशवन गाउँ जाँदै थिए । श्रीनगरबाट ३ सय किमि टाढा रहेको किश्तवाड पहाडी क्षेत्रमा अवस्थित छ ।

यस क्षेत्रको सडकको अवस्था भने राम्रो मानिँदैन । अहिले बर्खाको समयमा पानी परिरहेकाले यहाँ धेरै बस दुर्घटना भएका छन् । पछिल्लो साता पनि ११ छात्रा बोकेको एउटा बस पहाडको गहिरो खोंचमा खसेको थियो । जसमा ९ जनाको मृत्यु भएको थियो ।

किश्तवाडका अधिकारिहरुका अनुसार दुर्घटनामा पर्नेको उद्धार भइरहेको छ । स्थानीय बासिन्दा, प्रहरी तथा सुरक्षा बलका अधिकारीहरु शव निकाल्न सघाइरहेका छन् । त्यहाँका गभर्नर (राज्यपाल) सत्यपाल मलिकले मृत्यु हुनेप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले सम्बन्धित निकायलाई दुर्घटनाका विषयमा छानबिनका लागि निर्देशनसमेत दिएका छन् ।


  •  
  •  
  •