गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो(अपडेट)

646
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा बिहीबार बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

उपचारको लागि पाल्पा लैजाने क्रममा थप एक घाइते पनि मृत्यु भएको हो । पछिल्लो पटक मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् ।

दुर्घटनामा धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो । शर्मा नेपाली कांग्रेसका पूर्वसांसदसमेत हुन् ।

गुल्मीको दर्लिङबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेको थियो । जीपमा १० जना सवार थिए ।

घाइतेहरुलाई जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा उपचारका लागि लगिएको छ ।  दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।

यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा जीप दुर्घटना


  •  
  •  
  •