रुपन्देही । रुपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । भैरहवा–भुमही सडकखण्डमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी ९ जना घाइते भएका छन् । रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक आपसमा ठोक्किँएको रुपन्देही प्रहरीले जनाएको छ ।
अत्याधिक कुहिरोका कारण ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । बिहान करिब साढे ६ बजे भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण आपसमा ठोक्किँएको बताइएको छ ।
मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी र भविकन कुर्मी छन् । अर्का मृतक पूर्णबहादुर भुजेलको ठेगाना खुलिसकेको छैन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् ।
घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार भैरहवाबाट लोडेड ट्रक परासीतर्फ जाँदा विपरीत दिशातर्फबाट आउँदै गरेको खाली ट्रकसँग जुधेको हो । २ वटा ट्रकमा क्षति भएको छ भने एउटा ट्रकमा सामान्यक्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।