त्रिशूली बस दुर्घटनामा : खोजी कार्य जारी, ११ को शव फेला

117
  •  
  •  
  •  

धादिङ । धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा गत शुक्रबार भएको बस दुर्घटनामा वेपत्ताको खोजी कार्य जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १९ जना अझै वेपत्ता भएको आंशकामा खोजी कार्य जारी रहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर वेपत्ताको खोजी गर्न आग्रह गरेका हुन् ।

अहिले सबै जिल्ला प्रहरी नदी किनारमा खोजी लागेका छन् ।  खोजीकार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो ।

चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताएका छन् ।

वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

सर्लाहीको मलङवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना ६ ख ७४६९ नंको बस त्रिशूली नदिमा खसेको थियो ।

दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ भने अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशंका गरिएको छ ।


  •  
  •  
  •