स्कुल पढ्दा भद्र थिए पारस

160
  •  
  •  
  •  

नारायणप्रसाद शर्मा, पूर्वप्रधानाध्यापक, बूढानीलकण्ठ स्कुल –
पर्वत कुर्घा–२ मा जन्मिएका नारायणप्रसाद शर्मा (६०) ले जीवनका चार दशक शिक्षणमा बिताए । आफ्नै जिल्लाको सरकारी विद्यालयबाट शिक्षण सुरु गरेका शर्माले १७ वर्ष बूढानीलकण्ठ स्कुलमा शिक्षक र प्रधानाध्यापक भएर बिताए । त्यसक्रममा उनले तत्कालीन राजपरिवारका चार सदस्यलाई पनि पढाए । त्यसवेलाको अनुभव उनले नयाँ पत्रिकामार्फत यसरी बताए :

बूढानीलकण्ठ स्कुलमा शिक्षण सुरु गर्नुअघि नै मैले पर्वतको सामुदायिक र ललितपुरमा बोर्डिङ स्कुलमा पढाइसकेको थिएँ । त्यसैले शिक्षण मेरो लागि नौलो थिएन । तर, सन् १९९३ को नोभेम्बरमा बूढानीलकण्ठको स्कुलमा शिक्षक भएर जाँदा केही जिज्ञासा थिए । किनकि, बूढानीलकण्ठ स्कुललाई राजपरिवारसहित धनीमानी वर्ग मात्र पढ्ने स्कुल भनिन्थ्यो । तर, त्यहाँको अवस्था फरक थियो । एक तिहाई विद्यार्थी दुर्गम क्षेत्रबाट छात्रवृत्ति पाएर पढ्न आएका थिए । त्यो प्रणाली अहिले पनि कायमै छ । त्यस्तै त्यहाँ विद्यार्थीलाई थरले होइन, नामले मात्रै सम्बोधन गरिन्थ्यो । जसले जातीय भेदभाव पनि देखिँदैनथ्यो । मैले शिक्षण सुरु गर्दा तत्कालीन युवराज दीपेन्द्र आठ कक्षामा पढ्थे । निराजन चार कक्षामा पढ्थे । तर, त्यहाँ सर्वसाधारण विद्यार्थी र उनीहरूलाई कुनै पनि विभेद गरेको पाइनँ । उनीहरूलाई कसैले पनि विशेष सम्बोधन गर्नुपर्दैनथ्यो । अरू विद्यार्थीले जे खान्थे, उनीहरू पनि त्यही खान्थे । जे खेल्थे, त्यही खेल्थे । मलाई त्यो वातावरण निकै सुखद लाग्यो ।

उनीहरूलाई सुरक्षाको व्यवस्था त गरिएको थियो । तर, त्यो कसैले पनि अनुभूति गर्ने खालको थिएन । विद्यालयबाहिर सेनाको सुरक्षा हुन्थ्यो । त्यसको आभाष आवासीय विद्यार्थी वा शिक्षकलाई हुँदैनथ्यो । त्यतिवेला गौरवशमशेर मेजर, पवन पाण्डे क्याप्टेन र धर्मपाल सिंह कर्नेल हुनुहुन्थ्यो । उहाँहरू शारीरिक शिक्षाको शिक्षकका रूपमा त्यहाँ हुनुहुन्थ्यो । सायद त्यहाँको सुरक्षाको जिम्मा अप्रत्यक्ष रूपमा उहाँहरूले लिनुहुन्थ्यो होला । त्यहाँ राति १० बजे ‘लाइट आउट टाइम’ हुन्थ्यो । त्यसको आधा घन्टापछि मात्रै गार्ड आउँथे । बिहान उज्यालो नहुँदै उनीहरू बाहिर गइहाल्थे ।

NP sharma with dipendra

बूढानीलकण्ठमा शिक्षण सुरु गरेको दुई वर्षपछि मात्रै मैले दीपेन्द्रलाई पढाएँ । त्यसवेला उनी १० कक्षामा पढ्थे । तर, त्यसअघि नै उनीसँग कुराकानी भने हुन्थ्यो । नौ कक्षामा पुगेपछि भूगोल र इतिहासमध्ये एउटा छान्नुपथ्र्यो । त्यसमा दीपेन्द्रको इच्छा इतिहास पढ्ने रहेछ । तर, त्यतिवेलाका प्रधानाध्यापक जोन टाइसनले वीरेन्द्रलाई इतिहासभन्दा भूगोल पढ्दा राम्रो हुने सुझाब दिएछन् । त्यसपछि वीरेन्द्रले दीपेन्द्रलाई भूगोल नै पढ्न भनेका रहेछन् । त्यसवेला उनले मसँग भनेका थिए, ‘टाइसन सरले बुबालाई भूगोल पढ्नुपर्छ भनेर लगाइदिएर भूगोल लिनुपर्ने भयो । मलाई यो विषय पढ्नै मन छैन ।’ मैले भनेँ, ‘त्यसो भए इतिहास नै लिने नि ।’ तर उनले भने, ‘होस्, बुबाले भनेपछि त्यही लिन्छु । इतिहास पछि पढौँला नि ।’ उनी बुबाआमाको अत्यन्तै सम्मान गर्थे भने शिक्षकसँग निकै फरासिला थिए ।

पछि उनले भूगोलमै आफ्नो रुचि विकास गरे । निराजन र श्रुतिलाई पनि भूगोल नै पढ्न उत्प्रेरित गरे । उनले ओ र ए लेभल, स्नातक र स्नातकोत्तरमा पनि भूगोल नै पढे । त्यसैमा विद्यावारिधि गरिरहेका थिए । दरबार घटना हुनुअघिको भेटमा उनले मसँग विद्यावारिधि अन्तिम चरणमा पुगेको बताएका थिए ।

उनी औसत स्तरकै विद्यार्थी थिए । तर, दिमाग भने निकै छिटो चल्थ्यो । हरेक सन्दर्भलाई आफ्नो जीवनसँग जोडिहाल्थे । एकदिन मैले जंगलबारे पढाउँदा उनले बुबासँग जंगल–भ्रमण जाँदाको सन्दर्भ जोडेको मलाई सम्झना आउँछ । त्यसै कुनै पनि सुझाबलाई सजिलै ग्रहण गर्ने र रमाइलो गरी प्रस्तुत गर्ने क्षमता थियो उनमा । एकचोटि मैले ज्वालामुखीको सन्दर्भ पढाएको थिएँ । त्यसैवेला मैले ‘एक्जाम पेपर’ बाँडेको थिएँ । त्यसमा कम नम्बर ल्याउनेमा दीपेन्द्र पनि परेका थिए । त्यसवेला उनले त्यो कापीलाई कच्याककुचुक पारेर पकेटमा राखे । त्यसवेला म रिसाएको थिएँ । उनले त्यो कुरा बुझेका थिए । पछि ज्वालामुखीबारे प्रश्न सोध्दा उनले सुरुवातमा भने, ‘सर कोही मान्छे रिसायो भने ज्वालामुखी हुन्छ होइन ?’ उनको कुराले सबैलाई हँसायो ।

त्यतिवेला नै उनमा प्रशस्त राजनीतिक सचेतना पनि थियो । बहुदल आएपछि पनि केही भएन भन्ने निराश प्रकट हुन्थे । त्यो सन्दर्भमा उनले कुनै सन्दर्भमा मसँग भनेका थिए, ‘५–७ वर्ष भनेको के हो र देशका लागि । कम्तीमा १४–१५ वर्ष पर्खनुपर्छ नि होइन सर ? कुनै पनि राजनीतिक दलले देशविरोधी काम त गरेका छैनन् नि । सबैले राम्रो गर्छौँ भनिरहेकै छन् । त्यसका लागि कुर्नुपर्छ नि ।’ १० कक्षामा पढ्दै गर्दा उनमा देखिएको सुझबुझ मलाई निकै मन परेको थियो ।

त्यस्तै उनमा नेतृत्व लिने गुण पनि विद्यार्थीकालमै देखिन्थ्यो । एउटा सन्दर्भ त्यसवेलाका ‘हाउस मास्टर’ ले दुव्र्यवहार गरेको सन्दर्भमा उनले हडतालको नेतृत्व नै गरेका थिए ।

बूढानीलकण्ठमा दसैँदेखि तिहारसम्म लामो बिदा हुन्छ । त्यतिवेला वैशाखमा पनि लामो बिदा हुन्थ्यो । त्यो वेलामा दरबारमा पढाउन पठाइँदो रहेछ । मलाई पनि दीपेन्द्रलाई पढाउन बोलाइयो । मैले अनिच्छा प्रकट गरेँ । सोचेँ, बूढानीलकण्ठमा सबैलाई एकै ठाउँमा पढाउँदा सहज भएको छ । दरबारमा के कसो होला † त्यहाँको भाषा कस्तो होला ? तर, त्यस्तो केही फरक नपर्ने, केवल दौरासुरुवाल र टोपीचाहिँ लगाउनुपर्छ भनेर त्यसवेलाका प्रधानाध्यापक र दरबारको शिक्षा हेर्ने पशुपतिभक्त महर्जनले मनाउनुभयो । उहाँहरूले ‘तपाईंले नै पढाउनुस् भन्ने रानीको इच्छा छ’ पनि भन्नुभयो । त्यसरी अनुरोध आएपछि म तयार भएँ ।

पहिलो दिन अलि असहज लागेको थियो । म दौरासुरुवाल र टोपी लगाएर तयार भएँ । दरबारबाट गाडी पठाइएको थियो । दीपेन्द्रलाई पढाउने शिक्षक भनेपछि ड्राइभरदेखि दरबारका कर्मचारीले पनि निकै सम्मान गरे । रमाइलै लाग्यो । त्रिभुवन सदनमा पढाउने कक्ष रहेछ । त्यहीँ पढाइयो । आफ्नै विद्यार्थी भएकाले खासै असहज भएन । पढाउने समय सकिएपछि गाडीले नै स्कुलसम्म लगिदिन्थ्यो ।

यो क्रम बिदाभरि चल्यो । त्यस्तो खासै उल्लेखनीय भएन । कहिलेकाहीँ पढाइरहेका वेला तत्कालीन रानी ऐश्वर्या आउँथिन् र पढाइको विषयमा जानकार लिन्थिन् । उनले दीपेन्द्रको पढाइबारे सोध्थिन्, मैले जे छ त्यही बताउँथेँ ।

०००

एसएलसी पास गरेपछि दीपेन्द्र बेलायतको इटन कलेज पढ्न जाने भए । तर, त्यहाँ ओ लेभल केही समयपछि मात्रै सुरु भएकाले दरबारमै तयारी गराउने भन्ने निर्णय भएछ । त्यस अवधिमा पनि मैले उनलाई त्यहाँको कोर्सअनुसारको भूगोल पढाएको थिएँ । अरू सरले अन्य विषय पढाउनुभयो ।

दीपेन्द्र इटन जानुअघि नै एमएस्सी गर्नका लागि बेलायतकै साउथ एम्टन युनिभर्सिटी गएँ । इटन र एम्टन नजिकै पर्छ । तर, त्यहाँ बाहिरबाट गएका कसैलाई पनि भेट्न नदिने नियम रहेछ । त्यसैले भेट्न पाइएन । तर, उनले चिठी लेखिरहन्थे ।

ए लेभल सकेर नेपालमा फर्किसकेपछि पनि उनी बूढानीलकण्ठ पुग्थे र मलाई भेट्थे । उनी बाइकमा पनि पुग्थे । मैले एकचोटि भनेँ पनि, ‘देशको युवराजजस्तो मान्छे, यसरी एक्लै हिँड्न हुन्छ ?’

उनले हाँस्दै भनेका थिए, ‘सर, मैले जुडो–कराते सबै सिकेको छु नि । १०–१५ जनाले त मलाई के गर्न सक्छन् र ?’ उनलाई मैले अन्तिमचोटि घटनाअघिको घोजेजात्राका दिन भेटेको थिएँ । त्यसदिन उनी घोडेजात्रा सकेर बूढानीलकण्ठ स्कुल पुगेका थिए ।

०००

श्रुतिचाहिँ सेन्ट मेरिजमा पढिरहेकी थिइन् । तर, बिग्रँद्रै गइरहेको सुरक्षा व्यवस्थाका कारणले होला, दरबारमै बसेर प्राइभेट एसएलसी दिने व्यवस्था मिलाइएको थियो । त्यसक्रममा मैले दरबारमै गएर उनलाई दुई वर्ष भूगोल पढाएँ ।

उनी निकै शालीन र समयनिष्ठ थिइन् । कुनै दम्भ र घमण्ड देखिँदैनथ्यो । लगनशील थिइन् । प्रकृतिप्रेमी थिइन् । मैले त अझै देखेको छैन । तर, उनले दरबारबारे भनेका कुरा सम्झिरहन्छु । उनले भनेकी थिइन्, ‘दरबारको बाँसघारी भएपट्टिको क्षेत्रमा एउटा पोखरी छ । त्यसको पानी एकदम कञ्चन छ । कहिल्यै फोहोर हुँदैन । बाँस वा कुनै रूखको पात झरिहाल्यो भने पनि चरा आएर टिपेर फाल्छ ।’

निराजनलाई मैले चार कक्षादेखि नै पढाएको हुँ । पछि दरबारमा ट्युसन पनि पढाएँ । तर, त्यसैवेला मेरो बुबा बित्नुभयो । बरखी बारेका वेला सेतो लुगा लगाउनुपर्ने, टोपी लगाउन नहुने । आमाका भावनालाई कदर गर्दै म खानासमेत आफैँले पकाएको मात्रै खान्थेँ । तर, दरबारमा बरखी बारेका वेला अरूलाई त प्रवेश नै निषेध रहेछ । कर्मचारीचाहिँ कालो टोपी लगाएर जानुपर्ने रहेछ । तर, मैले मानिनँ । मैले आफ्नो संस्कृतिलाई उल्लंघन नगर्ने बताएँ । ‘सबैले त्यसै गरिरहेका छन् । ‘तपार्इंले चाहिँ किन नगर्ने ?’ भन्ने कुरा आयो । तर, मैले संस्कृति उल्लंघन गर्न नसक्ने भएकाले त्यस अवधिमा पढाउन नसक्ने अडान लिएँ ।

त्यसको केही समयपछि दरबारको दक्षिणढोका मूल गेटको अगाडिपट्टि पञ्चायतको समयमा जाँचबुझ केन्द्र रहेको स्थानमा ल्याएर निराजनलाई पढाउने व्यवस्था गरियो र मलाई पढाउन बोलाइयो । सुरक्षाकर्मीले बाटो कटाएर त्यहाँ लान्थे निराजनलाई । त्यहाँ मैले आफ्नै लुगामा जान पाउँथेँ । बरखी सकिएपछि दीपेन्द्रलाई झैँ दरबारभित्रै पनि पढाएँ ।

उनी भलाद्मी र साधारण थिए । त्यस्तो विलक्षण प्रस्तुति थिएन । पढाइमा पनि औसत नै थिए । लजालु स्वभावका थिए । बिराभी धेरै भइरहन्थे ।

०००

पारसलाई चाहिँ मैले पाँचदेखि आठ कक्षासम्म पढाएँ । उनलाई ट्युसन पढाइएन । उनले नौ कक्षापछि इतिहास लिएर पढेका थिए ।

उनी औसत स्तरकै विद्यार्थी थिए । बिरामी भइरहन्थे । तथापि, ध्यानपूर्वक पढ्थे । तर पनि, कक्षामा त्यस्तो उल्लेखनीय प्रस्तुति हुँदैनथ्यो । स्पेलिङ धेरै गलत हुन्थ्यो उनको । यसै सन्दर्भमा मैले एकदिन भनेको थिएँ, ‘तिमीले आफ्नो नामको स्पेलिङ त शुद्ध लेख्न सक्छौ ?’ उनले हाँसेर टारेका थिए । त्यस्तो कुरामा कुनै दु:ख मान्दैनथे । व्यवहार शालीन थियो । भलाद्मी थिए । पारसको त्यो वेलाको व्यवहार उदाहरणीय थियो । तर, अहिले जेजस्तो कुरा आइरहेको छ, त्यसमा पछिको वातावरणले काम गर्‍यो कि ? यसबारे म त्यति जानकार छैन

नयाँपत्रिका/प्रस्तुति : कला अनुरागी


  •  
  •  
  •