जुम्लामा ‘दुई तिहाइले गराउँछन् असुरक्षित गर्भपतन’

184
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (ओएनएस) : जुम्लामा गरिएको एक अध्ययनले दुई तिहाइभन्दा बढी महिलाले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेको देखाएको छ । एक्सन वर्क्स नेपाल नामको गैर सरकारी संस्थाले सन् २०१४ को जुलाई र अगष्टमा गरेको अध्ययनले जम्मा ३१ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराउने गरेको देखाएको हो ।

यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे तीन गाविस शनीगाउँ, कुडारी र लाम्रामा गरिएको आधारभुत सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रम व्यवस्थापक अनिता भुजेलले सुरक्षित गर्भपतनका बारेमा समुदायलाई जानकारी गराउनु पर्ने बताइन् । ५ सय ९१ जनामा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत महिला रहेको र जसमध्ये ६९ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको बताएको उनको भनाइ छ ।

भुजेलले भनिन्, ‘अध्ययनमा सहभागी भएका ४ सय ६० महिला मध्ये ६९ प्रतिशत अर्थात ३ सय १७ जनाले असुरक्षित गर्भपतन गराएको बताएका छन् । ४४ प्रतिशतले त घरमैं गर्भपतन गराएको स्वीकारेका छन् । यसले सुरक्षित गर्भपतनका बारेमा उनीहरुमा चेतनाको कमी छ भन्ने कुरा प्रष्ट पारेको छ ।’

गर्भपतन गराउनका लागि महिलाहरु लगातार सात दिनसम्म मलखाल्डोमा बस्ने गरेको पाइएको कार्यक्रम व्यवस्थापक भुजेलको भनाइ छ । उनले भनिन्, ‘तातोपदार्थ जस्तै गहतको झोल खाएर तातोपानी गाविसको तातोपानी धारामा दिनभरी नुहाउने र त्यत्तिले पनि नभएमा मलखाल्डोमा अलिकति खनेर त्यसबाट आउने तातो वाफमा एक हप्तासम्म बस्ने गरेको पाइएको छ ।’

२८ प्रतिशतले विभिन्न रोग निको पार्न प्रयोग गर्ने गरिएका चक्की औषधि एकै पटक खाने गरेको बताउनुका साथै यौनाङ्गमा विभिन्न किसिमका सामानहरु राख्ने, जडिवुटीको प्रयोग गर्ने गरेको पाइएको एक्सन वर्क्स नेपालले जनाएको छ । २२ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा गएर औषधि खाएर गर्भपतन गराउने ‘मेडिकल एवर्सन’ गराएको र झण्डै ९ प्रतिशतले औजारको प्रयोगमार्फत गर्भपतन गराएको जानकारी दिएको कार्यक्रम व्यवस्थापक अनिता भुजेलले बताइन् ।

जम्मा २१ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराउने सूचिकृत स्वास्थ्य संस्थाको बारेमा थाहा पाएको बताएको प्रतिवेदनमा उल्लेख छ । व्यबस्थापक भुजेलले भनिन्, ‘गर्भपतनका बारेमा ७३ दशमलव ८ प्रतिशतले सुनेका रहेछन्, ५१ दशमलव ६ प्रतिशतलाई गर्भपतन गराउने कानुनी अधिकार छ भन्ने थाहा रहेछ । सर्वेक्षणमा सहभागी मध्ये ६८ दशमलव ३ प्रतिशतले त गर्भपतनलाई पनि परिवार नियोजनको साधनको रुपमा लिएका छन् । यसबाट प्रष्ट हुन्छ की जुम्लाका नागरिकलाई सुरक्षित गर्भपतनका बारे बुझाउनु जरुरी छ ।’

सर्वेक्षणका क्रममा ९० प्रतिशतले परिवार नियोजनको कुनै एउटा साधनको बारेमा थाहा पाएको बताएका थिए भने जम्मा १२ प्रतिशतले मात्रै परिवार नियोजनका पाँचवटै अस्थायी साधनका बारेमा जानकारी भएको बताएका थिए । संविधानसभा सदस्य गोमा कुँवरले महिलाले श्रीमानलाई समेत भन्न नसक्ने र सम्पत्तीमाथिको अधिकार नभएका कारण असुरक्षित गर्भपतन गराउन बाध्य भएको बताइन् ।

उनले भनिन्, ‘जुम्लामा लाज मान्ने संस्कार अझै छ, यत्तिसम्मकी श्रीमानलाई पनि सबैकुरा भन्न सकेका छैन । अर्कोतिर महिलासँग पैसा हुन्न श्रीमानसँग माग्नुपर्छ । गर्भपतन सेवाका लागि स्वास्थ्य संस्थामा शुल्क तिर्नुपर्ने भएकोले पनि घरमैं गर्भपतन गराउन बाध्य छन् ।’ गर्भपतन गराएपछि पनि महिलाले पोषिलो खाना र आराम गर्न नपाउने भएकोले स्वास्थ्य अवस्था झनै खराब हुने सभाषद कुँवरको भनाइ थियो ।

१२ प्रतिशतले मात्रै पाँचवटै अस्थायी साधनको नाम भने
अध्ययनका क्रममा ८६ प्रतिशतले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको थियो । ७० प्रतिशतले कुनै एउटा साधन प्रयोग गरिरहेको र झण्डै ७८ प्रतिशतले औसतमा तीन महिना परिवार नियोजनका अस्थायी साधन प्रयोग गरेको बताएको प्रतिवेदनमा छ ।

उत्तरदातामध्ये ३५ प्रतिशतले गर्भनिरोधका साधन प्रयोग गर्ने महिलालाई अनैतिक ठान्ने गरेको बताएको कार्यक्रम व्यवस्थापक भुजेलले बताइन् । अध्ययन गरिएकामध्ये ९० प्रतिशतले कुनै एक साधनका बारेमा थाहा भएको बताए पनि जम्मा १२ प्रतिशतले मात्रै पाँचवटै अस्थायी साधनको नाम भनेका थिए ।

गाविसमा रहेका स्वास्थ्य संस्थाले छोटो अवधिका तीन वटा साधन मात्रै उपलब्ध गराइरहेको पाइएको एक्सन वक्र्स नेपालले जनाएको छ । व्यवस्थापक भुजेलले भनिन्, ‘सदरमुकाम जुम्लाबजारमा रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेरी स्टोप्स सेन्टरले मात्रै लामो अवधिको अस्थायी परिवार नियोजन सेवा दिउको पाइयो । अध्ययनबाट हरेक स्वास्थ्य संस्थाबाट पाँचवटै अस्थायी साधन उपलब्ध गराउनु पर्ने र स्वास्थ्यकर्मीको क्षमता विकास गर्नु पर्ने देखिएको छ । यसका साथै यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा महिला र पुरुषलाई सँगै राखेर सचेतना जगाउनु जरुरी छ ।’

सेफ एवर्सन एक्सन फण्ड (साफ) को आर्थिक सहयोग तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा एक्सन वर्क्स नेपालले आधारभुत सर्वेक्षण गरेको थियो ।


  •  
  •  
  •