गर्भपतनसम्बन्धी कडा कानून पारित

108
  •  
  •  
  •  

मियामी । अमेरिकाको अलबामा राज्यको सिनेटले गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानून पारित गरेको छ ।

सिनेटले पारित गरेको कानूनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने उल्लेख छ ।

रिपब्लीकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरणका लागि गभर्नर के इभे समक्ष पुगेको छ ।

गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानूनको रुप लिनेछ । नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट पनि दिइएको छैन ।

संयुक्तराज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानूनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ । विधेयकको पक्षमा रहेकाहरुले आफूहरु सर्वोच्च अदालतमा जाने धम्की दिएका छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेपछि अमेरिकी सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरु नियुक्त गरेकाले पनि सर्वोच्च अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ ।

एजेन्सी


  •  
  •  
  •