एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन

331
  •  
  •  
  •  

ABC TVकाठमाडौँ, ३० बैशाख(ओएनएस) : प्रेस काउन्सिल नेपालले सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई आम जनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहीबार बसेको बैठकले ०७२ साल चैत्र १७ गते एविसी टेलिभिजनको ‘एबीसी वाच’ नामक कार्यक्रममा राउतसँगको अन्तर्वार्तावाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सामाजिक सदभावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ४ (१) को गम्भीर उल्लङ्घन भएको ठहर गर्दै काउन्सिलले उक्त निर्देशन दिएको हो ।

एबिसी टेलिभिजनबाट प्रसारित सामग्रीको चर्को विरोध भएपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउदै ३ तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन गरेको थियो । जवाफमा टेलिभिजनबाट अन्तर्वार्ता दिने व्यक्ति नै जिम्मेवार हुनुपर्ने भन्दै जुनसुकै प्रकृतिको विचार र अभिव्यक्ति प्रसारण गर्न पाउनुपर्ने जवाफलाई प्रेस काउन्सिल नेपालले अस्वीकार गरेको छ ।

टेलिभिजनले राष्ट्रियता प्रतिको जनआस्थामा चोट पुर्‍याएको र पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर गरिएको काउन्सीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •