अस्वस्थ कर्मचारीलाई अनिवार्य अवकाश

152
  •  
  •  
  •  

काठमाडौं । सरकारले शारिरीक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ ।

सरकारले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भएका कर्मचारीलाई ७ वर्षको सेवा, सुविधा थप गरी अवकाश दिने व्यवस्था गरिएको हो ।

बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बहालवाला कर्मचारी शारिरीक तथा मानसिक रुपमा अशक्त भएमा उसलाई ७ वर्षको सेवा, सुविधा थप गरी अवकाश दिने कानूनी व्यवस्था गर्न लागिएको बताए ।

यस्तै सरकारले कार्य क्षेत्रमै शारिरीक तथा मानसिक रुपमा अशक्त भएका कर्मचारीलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था समेत गरेको छ ।

उनीहरुको अवस्थालाई हेरेर मन्त्रीपरिषद बैठकले पनि विशेष व्यवस्था गर्ने प्रावधान पनि विधेयकमा समावेश गरिएको मन्त्री पण्डितले जानकारी दिए ।

समितिका सदस्यहरुले सरकारले पेश गरेको सो विधेयकमा सहमति जनाएका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले शारिरीक तथा मानसिक रुपमा अशक्त कर्मचारीलाई ७ वर्ष सेवा, सुविधा थप गरी अवकाश दिने गरी सरकारले ल्याएको सो विधेयकको प्रावधानमा आफ्नो पार्टी सहमत रहेको बताइन् ।

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले अशक्त कर्मचारीहरुलाई राज्यले सेवा, सुविधा दिनुपर्ने भएकाले पनि सरकारले विधेयकमा ल्याएको सो प्रावधानको विपक्षमा उभिनुपर्ने कुनै कारण नरहेको बताइन् ।


  •  
  •  
  •