अवैधानिक कामदारका लागि मलेसियामा आममाफी

102
  •  
  •  
  •  

काठमाडौं । मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ ।

अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई लक्षित गरी सो कार्यक्रम ल्याइएको मलेसिया सरकारले जनाएको छ ।

उक्त कार्यक्रम १ अगष्ट २०१९ देखि ३१ डिसेम्बरसम्म रहनेछ । आममाफी कार्यक्रममार्फत ५ महिनासम्म अवैध रुपमा मलेसियामा रहेका आप्रवासी कामदारहरु आ–आफ्नो देशमा फर्कन सक्नेछन् ।
यस कार्यक्रमबाट ठूलो संख्यामा अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

मलेसियास्थित नेपाली दूतावासले ५ महिनाको आममाफी अवधिभित्र मलेसियामा अवैधानिक रुपमा रहेका धेरै नेपाली कामदारहरु लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

अवैध कामदारहरु फर्किंदा मलेसिया सरकारको नियमअनुसार आवश्यक जरिवानावापतको शूल्क बुझाउनुपर्ने हुन्छ ।
अवैधानिक कामदारले प्रतिव्यक्ति ७ सय रिंगिट, राहदानी नहुने कामदारका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) बनाउँदा लाग्ने सरकारी राजश्ववापत १ सय ६० रिंगिट र मलेसियाबाट नेपाल फर्किंदा लाग्ने हवाई टिकटवापतको रकम बुझाउनु पर्नेछ ।

अभिलेखबिहीन तथा गैह्रकानुनी रुपमा धेरैको संख्यामा नेपाली कामदार मलेसियामा रहेका दूतावासले जनाएको छ ।
आममाफी कार्यक्रममार्फत नेपाल फर्किन सिधै दूतावाससँग सम्पर्क गर्न भनिएको छ । सम्बन्धित व्यक्तिहरुले दूतावासको फोन नः ००६०३२०२०१८९८, ००६०३२०२०१८९९, ००६०३२०२०१९०१ र हटलाइन टेलिफोन सेवा ००६०१६२४७२७७७ मा सम्पर्क गर्न सक्नेछन् ।


  •  
  •  
  •