बेपत्ता आयोग : सरकारबाटै बेपत्ता

120
  •  
  •  
  •  

काठमाडौं २६ पुस ।
माओवादी द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको यथार्थ अवस्था सार्वजनिक गर्न गठन गरिएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ अझै गुमनाम अवस्थामा छ । दुई वर्षका लागि गठन भएको आयोगको कार्यकाल एक वर्ष बितिसकेको छ । सरकारले कार्यसञ्चालन नियमावली स्वीकृत नगरिदिँदा आयोग सक्रिय हुन सकेको छैन । आयोगले ९ भदौमा नियमावली पास गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर, पाँच महिना बितिसक्दा पनि नियमावली पास हुन सकेको छैन ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत सरकारमा स्वीकृतिका लागि पठाएको नियमावली कहाँ कुन अवस्थामा छ भन्ने कुरा आफूलाई जानकारी नभएको आयोग अध्यक्ष लोकेन्द्र मल्लिक बताउँछन् । ‘हामीले पाँच महिनाअघि नै कार्यसञ्चालन नियमावली बनाएर सरकारलाई पठाएका हौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अहिले कहाँ पुगेको छ भन्ने कुराको आधिकारिक जानकारी छैन, अनौपचारिक रूपमा क्याबिनेटमै थन्किएको छ भन्ने सुनेको छु ।’ नियमावली स्वीकृत नहुँदा आयोगले कुनै काम अगाडि बढाउन नपाएको उनको भनाइ छ । ‘नियमावली स्वीकृत नगरिदिँदा एक वर्षको समय त्यसै गुज्रियो,’ मल्लिकले भने । यही प्रक्रियामा अगाडि बढ्दा अबको एक वर्षमा काम गर्न नसकिने उनको भनाइ छ । ऐनले आयोगको कार्यअवधि दुई वर्ष तोकेको छ । विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने उल्लेख छ ।

आयोगको कार्यतालिकाअनुसार समयमा नियमावली स्वीकृत भएर आएको भए अहिलेसम्म कतिपय मुद्दा कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेका हुन्थे । आयोग आफैँले बनाएको कार्यतालिकाअनुसार धमाधम बेपत्ता भएका व्यक्तिका विषयमा उजुरी आह्वान भइसकेको हुन्थ्यो । आयोग अध्यक्ष मल्लिक अहिलेसम्म कम्तीमा एकतिहाइ काम सम्पन्न गर्ने समय त्यसै गुज्रिएको बताउँछन् । यसका साथै आयोगले छानबिन र तथ्यांक विश्लेषणको काम कात्तिकदेखि नै सुरु गर्ने कार्ययोजना तयार गरेको थियो ।

कार्यसञ्चालन नियमावली बनेको भए बेपत्ता पहिचानका लागि महत्त्वपूर्ण मानिएको डिएनए परीक्षणका लागि आफ्नै विधि–विज्ञान प्रयोगशाला निर्माणको मध्यचरणमा पुगिसकेको हुन्थ्यो । सरकार र तत्कालीन माओवादीबीच शान्तिसम्झौता हुँदा बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न आयोग गठन गर्ने सहमति भएको थियो ।

सहमतिमा आयोग बनाई ६ महिनाभित्र सार्वजनिक गरिसक्ने दुवै पक्षले प्रतिबद्धता जनाएका थिए । तर, सम्झौता भएको आठ वर्षमा गठन भएको आयोगलाई सरकारले नै बेपत्ता बनाएपछि बेपत्ता परिवारका सदस्य दु:खी भएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहप्रवक्ता दामोदर भण्डारीका अनुसार नियमावली कानुन मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद्मा पेस भइसकेको छ ।

तर, संविधान घोषणा, नयाँ सरकार गठन, मधेस आन्दोलन र नाकाबन्दीका विषयमा बढी ध्यान गएका कारण नियमावली पास नभएको उनको भनाइ छ । ‘हामीले कानुनको राय लिएर नियमावली क्याबिनेट पठाइसकेका छौँ,’ उनले भने ‘देशका अन्य विषम कारणले यता ध्यान नगएको हुन सक्छ ।’
नयाँपत्रिकाबाट


  •  
  •  
  •