प्रशासनको निर्णयप्रति नेविसंघको आपत्ति

259
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : नेपाल विद्यार्थी संगठन(नेविसंघ)ले जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे निर्णयप्रति आपत्ति जनाएकाे छ। प्रशासनले ७ ठाउँमा मात्रै प्रदर्शन गर्न पाउने निर्णय गरेपछि नेविसंघले आपत्ति जनाएकाे हाे।

प्रशासनले गत २ गते निर्णय गर्दै  खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकेको थियो ।

तर त्यसकाे विरेाधमा नेविसंघले राजधानीका जुनसुकै स्थानमा पनि विरोध प्रदर्शन गर्न पाउनु पर्ने माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई मंगलबार ज्ञापनपत्र समेत बुझाएको छ ।

नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीले सिडिओ केदारनाथ शर्मालाई भेटेर काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाउने भनि २ वैशाखमा गरिएको निर्णय तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा कम्युनिष्ट सरकारले संविधानमै व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बधी मौलिक हकविरुद्ध निषेधाज्ञा जारी गरेको आरोप लगाइएको छ ।

नेविसंघले प्रशासनले उक्त निर्णय फिर्ता नलिए १६ वैशाखदेखि नै शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।


  •  
  •  
  •