‘आप’का प्रवक्ता भन्छन्, ‘नेपालमा पनि नयाँ शक्ति चाहिन्छ’

99
  •  
  •  
  •  

काठमाडौं, १० फागनु । आम आदमी पार्टी (आप) का केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा पनि भ्रष्टाचारविरोधी नयाँ शक्ति आवश्यक भएको बताएका छन् ।

नेपालमा पनि भ्रष्टाचारविरुद्धमा भारतमा आम आदमी पार्टीले चलाएकोजस्तो शान्तिपूर्ण भ्रष्टाचारविरोधी आन्दोलनको आवश्यकत्ता रहेको उनले बताए । ‘राजनीतिमा भ्रष्ट व्यक्तिहरुलाई पठाउनै हुँदैन, पैसाले चुनाव जितेर जानेहरुले नीति तथा नियम बनाउनै सक्दैनन्,’ शनिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भने, ‘त्यसैले प्रत्यक्ष जनतासँग साक्षात्कार गर्ने व्यक्तिहरुलाई मात्रै त्यो ठाउँमा पठाउनुपर्छ ।’

नेपालमा भ्रष्टाचार हुने गरेको कुरा आफूले पनि सुनेको आशुतोषले बताए । उनले नयाँदिल्लीका नवनिर्वाचित मुख्यमन्त्री अरविन्द केजरीवाल समय मिलाएर छिट्टै नेपाल आउने जानकारी दिए ।

नयाँदिल्लीमा आफ्नो पार्टीले चमात्कारिक विजयहासिल गरेसँगै विभिन्न टिकाटिप्पणी सुरु भएको उल्लेख गर्दै उनले केजरीवाललाई स्थापित हुन कम्तिमा पनि ६-७ महिना लाग्ने हुँदा त्यसपछि मात्रै नेपाल भ्रमण गर्न सक्ने जानकारी दिए ।

आशुतोषले संविधानका विवादित विषयमा धेरै भन्दा धेरै छलफल गरेर सहमति खोज्न सुझाव दिए । ‘कस्तो शासन प्रणाली अपनाउने ? के गर्ने ? कति वटा प्रदेश बनाउने भन्ने विषयमा नेपालका सबै राजनीतिक पार्टीका धारणाहरुमा व्यापक छलफल गर्नु नै उत्तम हुन्छ,’ उनको भनाइ थियो, ‘संविधान निर्माण गर्दा जति धेरै छलफल गर्‍यो त्यति नै सहमतिको नजिक पुग्न सकिन्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •