‘आप’जस्तै कोही आउला ?

86
  •  
  •  
  •  

काठमाडौं २ फागुन ।
दिल्ली विधानसभामा आम आदमी पार्टी (आप) ले दिग्विजय गरेपछि नेपालमा त्यसखाले पार्टीको सम्भावनाबारे बहस सुरु भएको छ । एक वर्षअघि अल्पमतको सरकार बनाएर ४९ दिनमै सत्ता छाडेका अरविन्द केजरीवाल नेतृत्वको आपले यसै साता विधानसभाका ७० मध्ये ६७ सिट जितेर दुनियाँलाई जिल्याएको हो ।

बहसको चौतारी बनेको छ, सञ्चार प्रविधिसँग निकट जमात रम्ने इन्टरनेट सामाजिक सञ्जाल (सोसल मिडिया) । एमआर खनालले टिवटे-‘कुरो आम आदमी पार्टीको हैन, नेपाली जनताले पनि अहिलेका राजनीतिक दलहरूको प्रभावकारी विकल्प चाहेका छन् ।’ नेपालमा त्यस्तो वैकल्पिक शक्तिको सम्भावना नदेख्ने सञ्जीवले पनि टिवटे-‘कुनै शक्तिका लागि नयाँ परिवेश चाहिन्छ । नेपालमा रेमिटेन्समा चुनौती आए वा तेलको भाउ आकासिँदाबाहेक त्यस्तो सम्भावना देख्दिनँ’ भन्दै टिवटे । तर आपजस्तो पार्टीको सम्भावना छैन भन्ने सुन्न नचाहनेहरू प्रशस्त छन् । केजरीवालको अपरिहार्यता नेपालमा छैन भन्नेहरू या मूर्ख हुन या धूर्त हुन जो कुनै न कुनै दलको मानो खाइरहेका छन्,’ शाह नाम राखेका एक जनाले टिवटरमा लेखे ।

आर्थिक संकटग्रस्त युरोपेली मुलुकमा समेत नयाँ राजनीतिक शक्ति उदाउन थालेको अवस्थामा छिमेकमा आएको राजनीतिक उलटफेरले यहाँ नयाँ शक्तिको बहस स्वाभाविक रूपमा चर्काउने विश्लेषक सञ्जीव पोखरेलले बताए । स्पेनमा बौद्धिक, अभिनेतालगायत ३० जनाले हस्ताक्षर गरेर गठन भएको ‘पोदेमोस’ले चार महिनापछिको चुनावमा ८ प्रतिशत भोटसहित ५४ सदस्यीय संसदमा ४ स्थान जितेको थियो । दुई वर्षअघि इटालीमा हास्य अभिनेता विपेगि्रलोको पार्टीले संसदीय चुनावमा २६ प्रतिशतसहित तेस्रो स्थान हासिल गरी परम्परागत ढाडी पार्टीहरूलाई गतिलो झापड दियो । केही साताअघिका ताजा घटना, संकटगस्त गि्रसमा क्रान्तिकारी वामपन्थी गठबन्धन सिरिजाले बहुमत ल्याएर सरकार बनायो ।

दोस्रो संविधानसभाको सेरोफरोमा नेपालमा पनि नयाँ राजनीतिक शक्तिका लागि विभिन्न किसिमले वकालत भए । यसमा पत्रकार रवीन्द्र मिश्रदेखि पूर्वप्रधानमन्त्री एवं माओवादी नेता बाबुराम भट्टराईसमेत अग्रसर भए । तर पार्टीभित्रको राजनीतिक समीकरणमा केही अनुकूलता बनाएपछि भट्टराई चुप भए । उनले पछिल्ला दिनमा आपलाई बधाई मात्र भने, पुरानो दलिल उठाएनन् । उनलाई ‘उधारो अध्यक्ष’मा रमाएको भनेर टिप्पणी गरियो ।

आपले जितेको भोलिपल्ट (बुधबार) विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्ज्वल थापा र नेता गोविन्दनारायण तिम्सिना उत्साही अवस्थामा अफिसमा थिए । थापा भारतीय म्यागजिन ‘क्याराभान’मा छापिएको आपको उतारचढावबारे रिपोर्ट पढदै थिए । ‘आपले जित्यो भन्दैमा वैकल्पिक शक्तिको उदय भइहाल्छ भन्ने त होइन,’ तिम्सिना भन्दै थिए, ‘तर यसले नेपाली समाजमा नयाँ खालको राजनीतिक शक्तिबारे बहस त सुरु भयो ।’ उनका अनुसार आप सफल हुँदैमा यहाँ सफल हुन्छ भन्नेमा विश्वस्त नभइहाल्नुपर्ने ३ कारण छन्- आपको नेतृत्वको पृष्ठभूमि, तिनले गरेको आन्दोलन तथा दिल्ली र काठमाडौंको समाजबीचको फरक । समाजमा पहिचान बनाइसकेकाको नेतृत्व आपमा छ । अन्ना हजारे नेतृत्वको प्रभावशाली भ्रष्टाचारविरोधी आन्दोलनको जगमा आप बनेको थियो । प्रजातन्त्रको लामो अभ्यासबाट खारिएका दिल्लीवासी राज्यबाट आफूले पाउनुपर्ने संरक्षणबारे निकै सचेत र जागरुक छन् ।

‘उत्साही बनाउने कारण पनि छ, दुवैतिर समयको माग उही छ,’ तिम्सिना भन्छन् । गत संविधान सभा चुनावमा आफूले थोरै भोट पाए पनि प्रत्येक चरणको गणना सकिएपछि प्रमुख पार्टीका उम्मेदवारका प्रतिनिधिले ताली बजाएर हौस्याएको उनी सम्भिmन्छन् । ‘हाम्रोजस्तो शक्ति उदाओस् भन्ने भित्री चाहना ठूला दलका कार्यकर्तामा छ,’ उनी भन्छन्, ‘विवेकशीलजस्तो पार्टी बलियो भए आफ्ना नेता सुधि्रन बाध्य हुन्छन् भन्ने आस छ ।’ विवेकशील विदेशमा पढेर फर्किएका नेपाली युवाको पहलमा जन्मिएको हो । उनीहरूले पहिलो संविधानसभा भंग भएपछि विवेकशील नागरिक भन्ने अभियान सुरु गरी राजनीतिक शुद्धीकरणको वकालत थालेका हुन् । त्यही समूह दोस्रो संविधानसभा निर्वाचनअघि राजनीतिक पार्टीका रूपमा दर्ता भएको हो । काठमाडौंका ४ ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर पार्टीले ३ हजारभन्दा बढी भोट पायो ।

समाजमा स्थापित नेतृत्व विवेकशीलमा छैन । मुखले शुभेच्छा सबैले दिने तर नयाँ खालको संगठनमा जोडिन डराउने अवस्थाको अनुभव यसका नेताहरूको छ । ‘यस्तो शक्ति चाहिँदैन, सम्भावना छैन, कसैले भन्दैनन्,’ थापा गुनासो गर्छन्, ‘तर तपाईंहरू अघि बढ्नोस्, हेरौंला मात्र भन्छन् ।’ बलेको आगो ताप्ने संस्कार भएको समाजमा एकचोटि परीक्षणमा खरो उत्रिन सके स्थापित व्यक्तित्व आफ्नो पार्टीमा आउने उनको आस छ । स्थानीय चुनाव भए काठमाडौंमा उल्लेख्य उपस्थिति जनाएर नयाँ शक्ति बन्ने यस पार्टीको कार्यनीति छ ।

शिक्षित, स्वच्छ र देशमा केही गरौं भन्ने युवाहरूको सहभागिताका बाबजुद विवेकशील पार्टी सफल हुनेमा समाज विश्लेषक पोखरेल शंका व्यक्त गर्छन् । ‘पार्टी सफल हुन वर्ग, जात, क्षेत्र आदिमा पकड राख्न जरुरी छ । राजधानीका अभिजात्य र गाउँका जमिन्दारको समर्थनको बलमा पञ्चायत टिकेको थियो । कांग्रेस मध्यमवर्गीय ब्राहमण, छेत्रीका साथै तराईको बलमा बलियो भयो । निम्न वर्गका साथै जनजाति, दलितलाई आकषिर्त गरेका कारण एमाले प्रजातन्त्रमा बलियो भयो । माओवादी त्यही निम्नवर्ग, जनजाति, दलितले समर्थन गर्दा उदायो । विवेकशील त्यस्तो निश्चित क्षेत्र लक्षित छैन,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालमा सक्रिय सीमित सहरी युवाको समर्थनमा पार्टी बलियो हुन्न ।’

भारतका प्रत्येक सकारात्मक परिवर्तनको नक्कल खोजिहाल्ने मनोवृत्तिमा नेपाली समाज देखिए पनि फरकखाले राजनीतिक शक्ति तयार हुन सजिलो नभएको राजनीतिक विश्लेषक कृष्ण पोखरेल टिप्पणी गर्छन् । उनका अनुसार पार्टी नयाँ भए पनि केजरीवाल आकर्षक सरकारी जागिर छाडेर समाजका निम्न मध्यमवर्गका लागि लामो समयदेखि लडिरहेका व्यक्ति हुन् । ‘सरकार छाडेपछि मिडियाले उनलाई खेदे पनि आममानिसबीच संवादलाई निरन्तरता दिए । यहाँ त्यस्तो संवाद गर्ने नेतृत्व देखिएको छैन,’ उनी थप्छन्, ‘देखासिकीमा राजनीतिक शक्तिको उदय सम्भव हुन्न ।’ कसैले त्यस्तो प्रयास गरिरहेको भए समाज व्यग्र भएको बेला ‘क्लिक’ हुनचाहिँ सक्ने उनी बताउँछन् । मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ त्यस्तो शक्ति बनाउने अनुहार नै नदेखेको बताउँछन् । उनका अनुसार त्यस्तो नेतृत्व काठमाडौंमै देखा पर्नुपर्ने हो । ‘तर अलि राम्रो देखिएको व्यक्ति बुझदै जाँदा फटाहा फेला पर्छ,’ उनी थप्छन् ।

नेपालमा फरकखाले राजनीतिक शक्ति अपरिहार्य ठान्ने पत्रकार मिश्र व्यक्तिगत सफलतालाई राष्ट्र रूपान्तरणमा लगाउन इच्छुक व्यक्तिको कमी छैन भन्छन् । र, त्यस्ताको समूहले गम्भीर गृहकार्य गरिरहेको पनि बताउँछन् । ‘आपको जितले उत्साह थपेको छ,’ उनी भन्छन्, ‘उसको उतारचढावले धेरै कुरा सिकायो ।’

‘समाजको पूरै राजनीतीकरण भइसकेको छ, यहाँ मान्छे जन्मिँदै कुनै पार्टीको मतदाता भएर जन्मिन्छन्,’ उनी भन्छन्, ‘धेरैले आशंका गरे पनि समाज नयाँ परीक्षण गर्न तयार भइसकेको छ ।’

मिश्रका अनुसार गएको निर्वाचनमा १ करोड ३० लाख मतदाता रहेकोमा १५ लाख जतिमात्र पार्टीका प्रतिबद्ध मतदाता थिए । बाँकी चलायमान मतदाता (स्विङ भोटर) लाई सम्भावना देखाउन सके नयाँ शक्ति निर्माण हुन सक्ने उनको तर्क छ । उनी गगन थापा, गोकर्ण विष्ट, हेमराज भण्डारीलगायतलाई स्व्ाीकार्य अनुहारका रूपमा नयाँ शक्ति निर्माणमा सामेल गराउन कोसिस गरिरहेका छन । मुख्यसचिव लीलामणि पौडेल, एसएसपी रमेश खरेल, योजना आयोग सदस्य स्वणिर्म वाग्लेलगायत समेत उनको नजरमा छन् । विश्लेषक पोखरेल दलहरूमा केही आसलाग्दा अनुहार भए पनि तिनले पार्टी परित्याग गरी नयाँ अभियानमा लाग्न जोखिम लिनेमा आशावादी छैनन् ।
कान्तिपुरबाट


  •  
  •  
  •