२२ दलीय गठबन्धनको आन्दोलन अन्यौलमा

86
  •  
  •  
  •  

काठमाडौं, २८ असोज (ओएनएस) एमाओवादी नेतृत्वको २२ दलीय गठबन्धन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा अन्यौलमा परेको छ । असोज २४ गतेदेखि सडक आन्दोलन सुरु गरेको गठबन्धनको ३१ गते पहिलो चरणको दबाबमुलक कार्यक्रम पुरा हुँदैछ ।

सत्तारुढ दल कांग्रेस–एमालेले सकेसम्म सहमतिमा नत्र प्रक्रियामा गएर भएपनि माघ ८ गते संविधान जारीगर्ने अडान लिएपछि २२ दलीय गठबन्धले सहमतिबाटै संविधान जारी गर्न दबाब दिने भन्दै पहिलो चरणको दबाब मुलक कार्यक्रम घोषणा गरेको थियो । गठबन्धनले दबाब मुलक आन्लोलन घोषणा गरिसकेपछि दलहरुबीच उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने सहमति भएर संयन्त्रसमेत गठन भइसकेको छ ।

संयन्त्रको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । सत्तारुढ दलले संयन्त्रको संयोजक भइसकेको अवस्थामा आन्दोलनको कुनै औचित्य नभएको तर्क गर्दै आन्दोलन जारी राखे संयन्त्रमा नबस्ने चेतावनी दिएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने या नगर्ने दोधारमा गठबन्धन पुगेको हो ।

‘पहिलो चरणका आन्दोलनका कार्यक्रम अब रोकिँदैन, एमाओवादी प्रवक्ता दीनानाथ शर्माले ओएनएससँग भने,‘पहिलो चरणको आन्दोलन पुरा भइसकेपछि सहयात्री दलहरुसँग छलफल गरेरमात्र थप निर्णय गर्न सकिन्छ ।’ स्रोतका अनुसार सोमवार बसेको उच्चस्तरीय राजीतिक संयन्त्रको बैठकमा एमाले अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष एवं राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाललाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह रेका थिए । ओलीले संविधानका विवादित विषयमा सहमति राजनीतिक समिति र संवाद समितिमार्फत जुटाउन सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । जवाफमा दाहालले पहिलो चरणको आन्दोलन नरोकिने तर, यसपछि भने सहयात्रीहरुसँग छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

एमाओवादीसहित विपक्षीहरुले विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै करिब डेढ महिनासम्म व्यवस्थापिका संसद अबरुद्ध पार्दै आएका थिए । सत्तारुढ दल उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सहमत भएपछि सदनको अवरोध हटेको थियो ।
एमाअमोवादी प्रवक्ता शर्माले समयमै संविधान जारी गर्न आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताउँदै राजनीतिक समितिले संविधान बनाउने ग्यारेन्टी गरे थप आन्दोलनका कार्यक्रम नगरिने बताए । ‘हाम्रो उद्देश्य जनतलाई दुख दिने होइन, उनले भने,‘ समितिले समयमै संविधान आउने ग्यारेन्टी गर्छ भने थप आन्दोलनका कार्यक्रम आउँदैनन ।’

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पहिलो चरणको आन्दोलनका कार्यक्रम सकिएपछि मात्र थप निर्णय गर्ने बताए । राजनीतिक समितिमार्फत विवादित विषयमा सहमति जुट्ने अवस्था आएमा थप आन्दोलनका कार्यक्रम नहुने उनले बताए । २२ दलीय गठबन्धनले घोषणा गरेको पहिलो चरणको दबाबमुलक आन्दोलन असोज ३१ गतेबाट सकिँदैछ ।


  •  
  •  
  •