मन्त्री निरीक्षणमा आउनेबित्तिकै विमानस्थल अन्धकार

217
  •  
  •  
  •  

aananda pokharel-TIAकाठमाडौँ, २२ मंसिर(ओएनएस) : पर्यटनमन्त्री आनन्द पोखरेल निरीक्षणमा गएकै बेला नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत प्रवाह विच्छेद भएको छ । १२ बजे मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी पुगेको २० मिनेटमै सिंगो विमानस्थल प्रणाली बिजुलीविहीन बनेको हो ।

विद्युत अवरुद्ध हुँदा अध्यागमनसम्बन्धी सम्पूर्ण कामहरू ठप्प भएको विमानस्थल कार्यालयका एक अधिकारीले ओएनएसलाई बताए । अध्यागमनको काम ढिला हुँदा यात्रुहरूले हैरानी बेहोर्नुपरेको छ । उनीहरूले एकै ठाउँमा लामो समय लाइन बस्नुपरेको छ ।

‘ओभरलोड भएर हो वा अरु कारणले हो, एक्कासि बत्ती गयो । काम पूरै प्रभावित भएको छ,’ ओएनएसको सम्पर्कमा आएका ती विमानस्थल अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा एक सेकेन्ड पनि विद्युत लाइन अवरुद्ध हुन नहुने हो । तर, मन्त्रीज्यू नै आएको बेला यस्तो घटना भयो । उहाँले पनि विमानस्थलको दुर्दशा आफैले अनुभव गर्न पाउनुभयो ।’


  •  
  •  
  •