जिन्दगी बदल्ने जिम्मेदारीमा

196
  •  
  •  
  •  

जिन्दगी जिउने दुई तरिका हुन्छन्। जे भइरहेको छ, त्यसलाई हुन देऊ या जिम्मेदारी उठाऊ, त्यसलाई बदल्ने। बलिउड अभिनेता आमिर खानले फिल्म ‘रंग दे वसन्ती’ मा बोलेको यो संवाद उनकै जीवनमा धेरै हदसम्म मेल खान्छ।

वास्तविक जिन्दगी नै फिल्मी शैलीमा बाँच्ने कलाकार भरमार रहेको बलिउडको ‘कमर्सियल’ दुनियाँमा उनी थोरै अभिनेतामध्ये पर्छन्, जो फिल्मलाई वास्तविक जिन्दगीको नजिक ल्याउन खोज्छन्। उनले ‘डिस्लेक्सिया’ भएका नानीहरूको लेखपढ समस्यालाई सराप्ने अभिभावकको आँखा खोले, ‘तारे जमीं पर’ मा। रटिएको जवाफका आधारमा पास–फेल निर्क्योल गर्ने परीक्षा प्रणालीमाथि व्यंग्य हाने, ‘थ्री इडियट्स’ मा।

अहिले फिल्मभन्दा बढी दर्शक समेट्ने टेलिभिजनमा ‘सत्यमेव जयते’ कार्यक्रम चलाइरहेका छन्, जसमा उनी यस्ता सामाजिक मुद्दा उठाउँछन्, जुन धेरै महत्वपूर्ण छ तर थोरै महत्व दिइन्छ।
त्यस्तै महत्वपूर्ण तर थोरै महत्व दिइएको केटाकेटीको पोषणसम्बन्धी मुद्दा उठाउन उनले यसपालि फिल्म र टेलिभिजनभन्दा सशक्त माध्यम छानेका छन्– सर्वसाधारणसम्म प्रत्यक्ष पुग्ने, अन्तर्क्रिया गर्ने र उनीहरूलाई कुपोषणविरुद्ध जागरुक तुल्याउने।
र, यसका लागि आमिर बनेका छन्, राष्ट्रसंघीय बालकोष (युनिसेफ) को दक्षिण एसियाली पोषणदूत, जसको औपचारिक घोषणा बिहीबार राजधानीको होटल याक एन्ड यतीमा गरियो।

बिहान ११:१५ बजे।
गएको साताबाट प्रत्येक आइतबार स्टार प्लसमा ‘सत्यमेव जयते’ कार्यक्रम सुरु हुने ठ्याक्कै यही नेपाली समयमा बिहीबार याक एन्ड यतिको रेगल हलमा छिरे आमिर।
गोलो गला भएको कालो टिसर्ट, आकाशे जिन्स र कालो जुत्तामा झुस्स कालो दाह्री पालेका आमिर आफ्ना सुरक्षागार्डलाई ढोकैमा छाडेर फटाफट मञ्चमा उक्लँदा पन्ध्र मिनेटदेखि मन थामेर बसेका दर्शक उद्वेलित भए।
आमिरले मञ्चमा उभिएर दर्शकतिर हेर्दै नमस्कार गरे। हात हल्लाए। र, पर्रर तालीबीच मञ्चमा राखिएका तीन कुर्सीमध्ये बीचमा बसे।
यस्तो लाग्थ्यो, उनी अब भन्नेछन्, ‘नमस्कार, आदाब, खुसामदिद, सत्यमेव जयते।’
तर, त्यस्तो भएन!
जे भयो, जसरी भयो, आमिरले जे भने, जसरी भने, सत्यमेव जयतेभन्दा कम भने थिएन।
करिब पाँच वर्षअघि भारतीय सांसदहरूको एक समूह आमिरलाई भेट्न गएका रहेछन्। समूहमा तत्कालीन सत्तारूढ कंग्रेसदेखि भाजपा, एसपीलगायत विभिन्न दलका सांसद थिए। हरेकजसो मुद्दामा टाउको फोडाफोड गर्ने सांसदहरू एकजुट भएर भेट्न आएको देख्दा आमिर चकित खाएछन्। त्योभन्दा चकित भएछन् उनीहरूले ल्याएको मुद्दा सुनेर।

विभिन्न दलका ती सांसदले आमिरलाई कुपोषणविरुद्ध सन्देश प्रवाह गर्न पोषणदूत बनाउने प्रस्ताव गरेका रहेछन्। बिहीबार उनी आफू यो अभियानमा सरिक हुँदाको गर्भ खोतल्दै थिए।
‘फरक दलका नेता कुनै एउटा विषयमा एकजुट भएर बोलेको सामान्यतया सुनिँदैन, तर उहाँहरू एकजुट भएर आउनुभएको थियो र मलाई पोषणदूत बन्न आग्रह गर्नुभएको थियो,’ कुपोषणविरुद्ध अभियानमा आमिरले आफ्नो अनुभव बाँडे, ‘त्यही दिनबाट मेरो यो यात्रा सुरु भयो।’
‘मलाई त्यसअघिसम्म कुपोषणको स्थिति यति भयानक छ भन्ने थाहा थिएन, जब थाहा पाएँ, मैले आफूलाई सम्हाल्नै सकिनँ,’ आफ्नै शैलीमा घरि रसिला आँखाले दर्शकतिर घोरिएर हेर्दै त घरि दाह्री कन्याउँदै आमिरले भने, ‘भारतमा ४८ प्रतिशत बालबालिका कुपोषणको सिकार रहेछन्। त्यो भनेको हाम्रा लगभग आधा केटाकेटी शारीरिक र मानसिक रूपमा आफ्नो सम्पूर्ण खुबी र ल्याकत प्रयोग गर्ने हैसियतसम्म पुग्दै पुग्दैनन्। के भविष्यका ती आधा जनसंख्यालाई बाँकी आधाको सहारामा बाँचून् भनी हामी छाड्न सक्छौं?’

नेपालको स्थिति पनि त्यसभन्दा खासै फरक छैन। सन् २०११ को राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार यहाँ ४१ प्रतिशत बालबालिका उमेरको अनुपातमा पुड्का छन्। ११ प्रतिशत उमेरअनुसार मोटा छैनन् भने २९ प्रतिशत उचाइको अनुपातमा कम तौलका छन्। त्यस्तै, ६ महिनादेखि ५ वर्षसम्मका ४६ प्रतिशत केटाकेटीमा रक्तअल्पता छ। यी सबै कुपोषणकै लक्षण हुन्।
पोषक आहारको कमीले भविष्यको झन्डै आधा जनसंख्या कुपोषणग्रस्त रहेको यो तथ्यले आमिरको चित्त भित्रैदेखि हल्लाइदियो। उनी भारत सरकारको पोषणदूतका रूपमा कुपोषणविरुद्ध अभियानमा हेलिए। र, गाउँगाउँ घुमेर गरिब स्थानीयमा पोषणसम्बन्धी ज्ञान छर्न थाले। जब स्थानीय स्तरमा पुगे, उनलाई समस्याको विकराल तस्बिर अझ प्रस्ट भएर आयो। कमी ज्ञानको मात्र होइन रहेछ, पोषणयुक्त खानेकुराको अभाव पनि रहेछ। बिहान–बेलुकीकै गर्जो टार्न धौधौ गरिब परिवारले पोषणको महत्व थाहा पाएर पनि त्यसको पूर्ति कसरी गरून्!

यसले आमिरलाई झन् विचलित बनायो। उनले उक्त अभियान अझ विस्तृत बनाए। पोषणयुक्त खानेकुरा किन्न नसक्ने परिवारका लागि आर्थिक सहयोगको हात बढाउन थाले।
काम गर्दै जाँदा उनले के पनि बुझे भने, पोषणको समस्या भारतको मात्र होइन रहेछ। समग्र दक्षिण एसियालाई नै गाँजेको रहेछ। समग्र दक्षिण एसियाकै वर्तमान र भविष्य कुपोषित हुँदै गएको रहेछ।
यो चेतपछि आमिरले आफ्नो दायरा अझ फराकिलो पारे, युनिसेफका लागि दक्षिण एसिया क्षेत्रीय पोषणदूतको जिम्मेदारी उठाएर।
भारतबाहेकका देशमा कुपोषण स्थितिबारे बुझ्न युनिसेफकै आयोजनामा बुधबार कपिलवस्तु सदरमुकामबाट करिब ९ किलोमिटर पूर्व पकडी गाउँ भ्रमणमा पुगेका थिए आमिर। आफ्नो महँगो र सुविधासम्पन्न एसी गाडीमा चढेर पकडीका गरिब स्थानीयसँग भेटेपछि आमिरलाई लाग्यो, ‘म भारतको ठूलो सहरमा आर्थिक रूपले सम्पन्न परिवारमा जन्मनु संयोगको कुरा मात्र हो। म पनि त्यसरी नै गाउँमा जन्मन सक्थेँ। गरिबीमा हुर्कन सक्थेँ। र, आज पकडीका तिनै बालबालिकाझैं पोषणयुक्त आहारको कमीले कुपोषणमा बाँचिरहेको हुनसक्थेँ।’

‘यो संयोग मात्र हो, आज त्यस्तो नियति मैले भोग्नुपरेन। म जस्तो स्थितिमा छु, उनीहरूका लागि केही गर्न सक्छु। यो अभियान त्यसैका लागि हो,’ उनले भने, ‘एकैचोटिमा यो मुद्दा सुल्झन सम्भव छैन, यसका लागि समय लाग्छ। समय मात्र भएर पुग्दैन, यसका लागि हामी सबैको एकीकृत प्रयास पनि चाहिन्छ।’
‘र, त्यसको सुरुआत हामी आजैबाट गरौं।’
आमिरले त्यसपछि बालबालिकाको पोषणमा सुरुआती हजार दिन कति संवेदनशील हुन्छ भनी यसरी अर्थ्याए :

‘यो अवधिमा पोषणयुक्त खानेकुरा पर्याप्त दिइएन भने पछि निकै गाह्रो हुन्छ। त्यतिबेलासम्म शरीरमा जे जति नोक्सान पुग्छ, त्यसको भर्पाई हुन सक्दैन। आँखाले झट्ट हेर्दा पोषणको कमी भएको देख्न सकिन्न। उनीहरू अरू बालबालिकाभन्दा खासै फरक हुँदैनन्। तर, उनीहरूको शारीरिक तथा मानसिक विकास सामान्यभन्दा सुस्त हुन्छ। उनीहरू धेरै चिजमा चासो दिँदैनन्। चलाख हुँदैनन्। कुपोषणको लक्षण यही हो।’
आमिरले सुरुआती हजार दिनका चार सूत्र विस्तारमा बताए।
पहिलो, मान्छेको जीवनकालका सुरुआती हजार दिन त्यो बेलादेखि गणना गरिन्छ, जब आमा गर्भवती हुन्छिन्। त्यो समय आमा र बच्चा दुवैको स्वास्थ्यका लागि पोषक खानेकुरा बढी नै खुवाउनुपर्छ। आमालाई आराम पनि प्रशस्तै दिनुपर्छ, ता कि उनले गर्भमा बच्चा हुर्काउने र जन्माउने शक्ति प्राप्त गरून्।

‘सुरुआती हजार दिनलाई सफल बनाउने सबभन्दा पहिलो दायित्व परिवारकै हुन्छ,’ आमिरले भने, ‘हाम्रो क्षेत्रमा भने परिवारमा सबैले खाइसकेपछि मात्र महिलाले खाने संस्कार छ। यसले धेरैजसो आमाका भागमा बचेखुचेका खानेकुरा मात्र पर्छन्। एउटा परिवारले मात्र यो संस्कार बदल्न सक्छ, आमा हुँदै गरेकी महिलालाई ख्याल राखेर, उनीहरूलाई आराम दिएर, पोषक खानेकुरा खुवाएर, किनकि परिवारमा चमत्कार हुँदैछ।’
दोस्रो, बच्चा जन्मेको दुई दिनसम्म आमाको दूध नै खुवाउनुपर्छ। त्यतिबेला दूधमा हुने पोषक तत्वले बच्चाको रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ।

‘हाम्रो संस्कारमा भने पहिलो दुई दिन आमाको दूध बच्चालाई खुवाउन लायक हुन्न भन्ने गलत मान्यता छ,’ आमिरले भने, ‘हाम्रो अभियान त्यो मान्यता बदल्ने हो।’
तेस्रो, पहिलो छ महिना पनि बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ। र, चौथो, छ महिनादेखि २ वर्षसम्म आमाको दूधसँगै अन्य पोषक खानेकुरा खुवाउन थाल्नुपर्छ।
‘बालबच्चाको उचित पालनपोषणका लागि यी चार चरण अतिमहत्वपूर्ण छन्,’ आमिरले जोड दिए, ‘हाम्रो अभियानले गाउँगाउँसम्म पुर्या उन खोजेको सन्देश यही हो। यसका लागि हामी ती महिलासम्म पुग्नेछौं, जो यी चार चरण पछ्याउने हैसियतमा छैनन्। हामी उनीहरूलाई सघाउनेछौं, सहयोगको हात बढाउनेछौं।’

पोषणदूत आमिरको सन्देशलगत्तै ‘सुनौला हजार दिन’ नामक सरकारी कार्यक्रमको औपचारिक सुरुआत भयो, जसमा उनलाई साथ दिए युनिसेफका नेपाल सद्भावना दूत नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले। याक एन्ड यतीको त्यो सभाकक्षमा उपस्थितजनले पारसको स्वागत पनि उत्तिकै उत्साहसाथ गरे, जसरी आमिरको गरेका थिए।
कालो सुट र सेतो सर्टमा मञ्चमा उक्लेका आफूभन्दा अग्ला पारसलाई स्वागत गर्न आमिर कुर्सीबाट उठेर अघि बढे। उनले पारसलाई गम्लंग अंकमाल गरे। दुवै मञ्चमा उभिएर केही बेर हात हल्लाईहल्लाई गफिएका थिए।
‘मैले वा आमिरले पोषणदूतका रूपमा काम गरेर मात्र यो विकराल समस्या हल हुनेवाला छैन,’ पारसले भने, ‘हामी सबैले आजैदेखि मिलेर काम गर्नुपर्छ। आज पहिलो दिन भयो, अब ९ सय ९९ दिन बाँकी छ। प्रत्येक पल उत्तिकै महत्वपूर्ण छन्।’

पोषणमार्फत मातृ तथा बाल मृत्युदर घटाउन सरकारले देशका १५ जिल्लाका २ सय १२ गाविसमा सुनौला हजार दिन कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो कार्यक्रम आर्थिक वर्ष २०६९/७० मा सिन्धुलीबाट नमूनाका रूपमा सुरु भएको थियो। पहिलो चरणमा सुनसरी, सप्तरी, खोटाङ, ओखलढुंगा र उदयपुरमा सञ्चालन गरियो। दोस्रो चरणमा रामेछाप, सिरहा, धनुÈा र महोत्तरी तथा तेस्रो चरणमा सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरमा कार्यक्रम सुरु भइसकेको छ।
यस कार्यक्रममा आमा र बच्चाको स्वास्थ्यमा पूर्ण रेखदेख गरिन्छ। बच्चा जन्मेको ६ महिनापछि थप पौष्टिक आहार दिइन्छ। कार्यक्रमअन्तर्गत नियमित दैनिक एक–एकवटा अन्डा वितरण, कुखुराको मासु र हरियो सागसब्जी खुवाउने अभ्यासमा जोड दिइएको छ। शिशु खानेकुरा, स्तनपान, पौष्टिक आहार दिनेलगायत पनि यसमा समेटिएका छन्।

यो अभियानमा संलग्न महिला स्वास्थ्य स्वयंसेविकाको तारिफ गर्न पनि आमिर चुकेनन्। ‘पकडी भ्रमण क्रममा मैले पाएँ, स्वयंसेविकाहरू गाउँमा अति मेहनतसाथ कुपोषणविरुद्ध डटिरहनुभएको छ,’ आमिरले भने, ‘हामीले उहाँहरूको योगदानको उचित मूल्यांकन गर्नुपर्छ। यो अभियानको सफलता उहाँहरूकै हातमा छ। सरकारले महिला स्वयंसेविकाको सुविधा थप गर्ने हो भने पोषणसँगै स्वास्थ्य क्षेत्रमा अन्य उपलब्धि पनि हासिल गर्न सकिनेछ।’

ग्रामीण क्षेत्रमा काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाले झुल, साइकललगायत सामग्री, निःशुल्क मोबाइल सुविधा र भत्ता बढाउन लामो समयदेखि माग गर्दै आएका छन्। सरकारले ‘हुन्छ हुन्छ’ भने पनि सुनुवाइ भएको छैन। नेपालमा ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।
बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ को उपमा पाएका आमिरसँग युनिसेफको सहकार्य सुरुआत भने आफैंमा ‘पर्फेक्ट’ हुन नसक्नु खल्लो पक्ष रह्यो। कम्तीमा तीनचोटि गम्भीर व्यवस्थापकीय त्रुटि भए।
भिडियो क्लिपिङ देखाउने घोषणा गरिए पनि स्त्रि्कनमा आमिरको तस्बिर स्थिर रह्यो। कपिलवस्तुको भिडियो रेकर्डिङमा आवाज आएन। माइती नेपाल तर्फबाट प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रममा त लगभग आधा दर्जनचोटि सही गीत नै बजेन। बारम्बार गलत धून बज्दा नाच्न तम्तयार कलाकार झुक्किएका थिए।

आमिरको ‘सत्यमेव जयते’ को समापन ‘थिम–सङ’ (विषयवस्तुसँग मिल्दोजुल्दो गीत) बाट हुँदै आएको छ।
उनको पोषणदूत घोषणा कार्यक्रम पनि त्योभन्दा फरक रहेन।
ठ्याक्कै एक घन्टा चलेको कार्यक्रमको समापन सत्यमेव जयते शैलीमै भयो। सांस्कृतिक संगीतमा ख्याति कमाएको ‘कुटुम्ब’ ब्यान्डका ६ जना सदस्यले सुनौला हजार दिनको अवधारणासँग मिल्दोजुल्दो थिम–सङ प्रस्तुत गरे। जसमा आमा गर्भवती हुँदादेखि प्रशव वेदना र बच्चा जन्मिँदासम्मका क्षणलाई सुमधुर संगीतमा उतारिएको थियो।
समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य बोकेको र साहसिक विषयवस्तु छनोट तथा संवेदनशील प्रस्तुतिका कारण चर्चित बनेको सत्यमेव जयतेमा के आमिरले कुपोषणविरुद्धको मुद्दा पनि उठाउँदैछन्?

‘अहिलेसम्म यसबारे सोचेको छैन,’ उनले औपचारिक कार्यक्रमपछिको प्रश्नोत्तरमा भने, ‘भविष्यमा यसलाई पनि समेट्नेबारे सोच्न सकिन्छ।’
यसपालि योजनामा नपरे पनि सत्यमेव जयतेकै पहिलो शृंखलामा भने यो मुद्दा उठाउने तयारी भइसकेको रहेछ। आफू यही विषयको सरकारी अभियानमा संलग्न रहँदै आएकाले त्यसलाई स्थगित गरिएको उनले बताए।

‘मैले अभियानकै रूपमा यो विषय उठाइरहेको थिएँ, टेलिभिजनमा बरु अरू मुद्दा नै ल्याउन उचित ठानेँ,’ आमिरले भने, ‘यसले अर्को नयाँ मुद्दामा काम गर्ने मौका पाउँथेँ।’
जिन्दगी जिउने दुई तरिका हुन्छन्। जे भइरहेको छ, त्यसलाई हुन देऊ या जिम्मेदारी उठाऊ, त्यसलाई बदल्ने।
आमिरले फिल्म, टेलिभिजन शृंखला र अब पोषणदूतका रूपमा जिम्मेदारी उठाएका छन् झन्डै आधा बालबालिकाको आहारमा भइरहेको गल्ती बदल्ने। नागरिकबाट


  •  
  •  
  •