दोहोरो सुविधा लिँदै अख्तियारकै आयुक्त

87
  •  
  •  
  •  

काठमाडौं, १७ पुस
आयुक्त सावित्री थापा गुरुङ संविधानविपरीत दोहोरो पदमा

  • अख्तियारकी आयुक्त सावित्री थापा गुरुङ आफैँले दोहोरो सरकारी पदमा रहेर कानुनविपरीत कार्य गरेकी छिन् । अख्तियार आयुक्तमा नियुक्तिपछि पनि उनले त्रिभुवन विश्वविद्यालयको जागिर छाडेकी छैनन् । उनले संविधानविपरीत त्रिविबाट काज स्वीकृत गराई आफ्नो पद यथावत् राखेकी छिन् ।
  • नेपालको संविधान–०७२ को धारा २३८ को उपधारा ६ को उपदफा ८ मा अख्तियारको प्रमुख आयुक्त तथा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने र अन्य सरकारी पदमा बहाल रहन नपाउने व्यवस्था छ ।

त्रिविमा पनि सेवा कायमै

  • गुरुङ अख्तियारको आयुक्तमा १९ चैत ०७१ मा नियुक्त भएकी थिइन् । त्यतिवेला उनी त्रिविको रत्नराज्य क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत थिइन् । संविधानअनुसार आयुक्त हुनुअघि उनले अनिवार्य रूपमा पदबाट राजीनामा दिनुपर्ने थियो । तर, गुरुङले आयुक्तमा नियुक्ति भएलगत्तै ६ वैशाख ०७२ मा निवेदन दिएर त्रिवि कार्यकारी परिषद्को २८ जेठ ०७२ बैठकको निर्णय नं २३८९ बाट बेतलबी काज स्वीकृत गराएको स्रोतले बतायो ।

गुरुङविरुद्ध सर्वोच्चमा रिट

  • कानुनविपरीतको कार्य गरेको भन्दै आयुक्त गुरुङविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको छ । रिटमा आयुक्तको हैसियतले गुरुङले पाएको हालसम्मको सबै सेवासुविधा फिर्ता दिलाउनसमेत आदेश माग गरिएको छ । संविधानविपरीतको कार्य गरेकाले गुरुङलाई आयुक्तको हैसियतमा कुनै प्रकारको कामकाज गर्न नदिन अन्तरिम आदेशको माग गर्दै अधिवक्ता रमेश काफ्लेले रिट दायर गरेका हुन् ।

घुस लिँदै गर्दा यातायातका निर्देशक रंगेहात पक्राउ

  • इलेक्ट्रिक स्कुटर ल्याउन नेपालगन्ज भन्सार कार्यालयलाई सिफारिस दिन एक लाख ८० हजार रुपैयाँ घुस लिँदै गर्दा यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल बिहीबार पक्राउ परेका छन् । ३६ वटा स्कुटर ल्याउने सिफारिस दिन उनले प्रतिस्कुटरको पाँच हजारका दरले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
  • रंगेहात पक्राउ परेका पोखरेललाई विशेष टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको र उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।
  • नयाँपत्रिकाबाट

  •  
  •  
  •