अख्तियारका आयुक्तद्वारा अख्तियार विरुद्ध नै रिट

450
  •  
  •  
  •  

काठमाडौं ३० पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालले अख्तियार विरुद्ध नै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एक सातापछि सकिन लागेको आफ्नो पदावधि शपथग्रहणको मितीदेखि कायम हुनुपर्ने माग राखी बरालले संवैधानिक परिषदको कार्यालय, परिषदका सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आयोगका सचिव विरुद्ध रिट दायर गरेका हुन् ।

संवैधानिक परिषदले बराललाई २०६६ साल माघ ७ गते अख्तियारको आयुक्तमा नियुक्त गरेको हो । तर त्यतिबेला अख्तियारमा प्रमुख आयुक्त सहित अन्य सबै आयुक्तको पद रिक्त थियो ।

२०७० बैशाख २५ गते अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ती र उनीसँग सपथ लिएपछि मात्रै बरालको आयुक्त पद क्रियाशिल भएको हो । उनले नरेन्द्र दाहाललाई वारेश बनाइ सर्वोच्चमा दिएको निवेदनमा शपथपछिको अवधि गणना गरी आफ्नो पदावधि २०७६ बैशाख २५ गतेसम्म पुर्‍याउन माग छ ।

२०७० बैशाख २५ पछिमात्रै पदाधिकार प्रयोग गर्न पाएको भन्दै आयुक्त बरालले मंसीर १४ गते आफ्नो विवरण अद्यावधिक गराउन माग राखी आयोगमा नै निवेदन दिएका थिए । ‘तर यस विषयमा आयोग सचिवालयबाट कुनै कारवाही पत्राचार भएको जानकारी म निवेदकलाई दिइएन’ रिटमा भनिएको छ, ‘जानकारी नगराएकाले पदावधि अद्यावधिकका लागि राष्ट्रपति कार्यालयमा पनि निवेदन दिएको थिएँ ।’

तर राष्ट्रपति कार्यालयले पनि नियुक्तीकै मितिबाट गणना गर्ने गरी पहिले नै तयार गरिएको विवरणलाई आधार देखाई माघ ६ गते पदावधी सकिने प्रतिउत्तर दिएको रिटमा उल्लेख छ । आफ्नो पदावधि नियुक्तिकै मितिबाट गणना गर्ने गरी तयार पारिएको विवरण र विवरणमा आधारित पत्र लगायतका सबै काम कारवाही बदर गर्न आयुक्त बरालले रिटमा माग गरेका छन् ।

कान्तिपुरबाट


  •  
  •  
  •