‘सुमार्गीको साढे ३ अर्ब कसरी आयो ?’

164
  •  
  •  
  •  

काठमाडौं ४ फागुन । संसद्को अर्थसमितिका सभासदहरूले कानुनी प्रक्रियाविपरीत व्यवसायी अजय सुमार्गीको नाममा भित्रिएको साढे ३ अर्ब रुपैयाँबारे छानबिन गर्न माग गरेका छन्। स्वतन्त्र वित्तीय कारोबार गर्ने स्थान ब्रिटिस भर्जिन आइल्यान्डबाट सुमार्गीको नाममा करिब ५ महिनाअघि आएको रकमबारे सभासदले आइतबार अर्थ मन्त्रालय र राष्ट्र बैंकका पदाधिकारीसँग छलफल गर्दै छानबिनको माग गरेका हुन्।

सभासदको जिज्ञासामा गभर्नर युवराज खतिवडाले प्रक्रिया पूरा नगरी सुमार्गीको नाममा साढे तीन अर्ब रुपैयाँ आएकाले रोक्का राखिएको जानकारी दिए। ‘कानुनी प्रावधान अटेर गरेर रकम ल्याउन पाइँदैन,’ खतिवडाले भने। उनले सुमार्गीको नाम उल्लेख नगरी रकम ल्याउँदा कानुन पालना नभएको जिकिर गरे। ‘केही संस्थामा प्रक्रिया पालना गर्नु भएको छैन,’ उनले भने, ‘लगानी ल्याउनुभयो, तर कुन उद्योगलाई स्पष्ट पार्न सक्नु भएन।’ ऋणका रूपमा यस्तो रकम आउँदा राष्ट्र बैंकले रोकेको उनले बताए। ‘कम्पनी नखोली कस्तो विदेशी संस्थाले ऋण पत्याउँछ?’ उनले प्रश्न गरे।

अर्थ समितिको बैठकले नेपालमा उद्योग सञ्चालनको नाममा विदेशबाट आएको पुँजी, सेयर र ऋण सम्बन्धित उद्योगमा खर्च भए/नभएको हेर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ। यसका साथै विदेशी लगानीको विवरण र राज्यको दायित्वबारे तथ्यांक दिन राष्ट्र बैंकलाई भनिएको छ।

समितिले ‘अमान्य र अस्वीकार्य सर्त स्वीकार गरी मुलुकको दीर्घकालीन हितविपरीत हुने लगानी आउन नदिन पनि लगानी बोर्डको ध्यानाकृष्ट गर्ने निर्णय’ समेत गरेको छ। कम्पनी नखुलाई भित्रिएको रकमबारे सरकार सचेत हुनुपर्ने सभासद मदनकुमारी साहले बताइन्। ‘यस्तो रकम दुरुपयोग हुने सम्भावना बढी छ,’ उनले भनिन्, ‘व्यापारिक घराना वा राजनीतिक उचाइमात्र नहेरेर विषयको गम्भीरता हेर्न जरुरी छ।’ सभासद जनार्दन ढकालले सुमार्गीको नाममा आएको रकमको स्रोत पुष्टि नभएकोबारे जिज्ञासा राखेका थिए।

‘पहिला विभिन्न बैंक लुटिए, चन्दा आतंक भए,’ ढकालले भने, ‘यो पैसा विदेश गएको हो कि भन्ने प्रश्न उठेको छ।’ उनले कुनै पार्टी वा व्यक्तिप्रति आक्षेप नलगाएको पनि बताए। सभासद शंकर भण्डारीले बैंकमा थन्किएको रकम जनताको सरोकारको विषय भएकाले अनुसन्धान गर्नुपर्ने बताए। ‘कुन दल शक्तिशाली भन्नुभन्दा पनि जनता बलियो हुन्,’ उनले भने, ‘यो अविलम्ब जनताले थाहा पाउने गरी आउनुपर्छ।’ सभासद विदुर सापकोटाले उद्योग दर्ता नगरी रकम आउनुमा अवैध पैसाको चलखेल रहेको ठोकुवा गरे। ‘यसरी आएको रकम अवैध पैसाको चलखेल हो भन्ने बुझ्नुपर्छ र पुष्टि हुन्छ,’ उनले भने, ‘शंकाको घेरामा राखिरहनु पर्दैन।’

सभासद केदारप्रसाद सञ्जेलले विदेशी लगानी खुकुलो बनाएको भने पनि उद्योग फस्टाउन नसकेको बताए। ‘लगानी खुकुलो बनाउँदा जेमा पनि लगानी दिने? ‘ उनले प्रश्न गरे, ‘उद्योग फस्टाएका छैनन्, हामीलाई ब्याकफायर भइरहेको छ कि? ‘

गभर्नर खतिवडाले यस्तै तरिकाबाट अरू केही कम्पनीले पनि रकम भित्र्याएको बताए। ‘यस्ता केही संस्था छन् र लिस्ट लामै छ,’ उनले भने। विदेशबाट आफ्नै कम्पनीमार्फत ऋण ल्याउने र कर नतिरी फिर्ता लैजाँदा पँँजी पलायनको खतरा हुने उनले औंल्याए। ‘विदेशी लगानी भनेपछि त्यो सँगै साँवा/ब्याज र नाफा फिर्ता लैजाने कुरा पनि आउँछ,’ उनले भने।

विदेशबाट ऋणका रूपमा भित्रिने लगानीलाई जलस्रोत र पूर्वाधारका क्षेत्रमा प्राथमिकता दिने गरिएको उनले बताए। उद्योग वा परियोजना तोकेर विदेशबाट रकम आए पनि त्यसमा खर्च भइरहेको छ/छैन भन्ने जानकारी नहुने गभर्नरले बताए। ‘उद्योग पूर्वाधारभन्दा खेलोफड्को गर्न रकम आउँछ भने त्यसले संकट निम्त्याउँछ,’ उनले भने। असर नहेरी रकम मात्र भित्र्याउँदा समस्या निम्तन सक्ने उनले बताए। ‘अल्पकालमा यति भित्र्यायौं भनेर नाक फुलाए पनि दीर्घकालीन रूपमा त्यस्तो हँँदैन,’ उनले भने।

अर्थसचिव सुमनप्रसाद शर्माले अस्वाभाविक ब्याजमा विदेशबाट ऋण ल्याउँदा मुलुकबाट बाहिर रकम जाने खतरा आउने बताए। ‘देशको आवश्यकता हेरेर विदेशी लगानीमा केही लचकता आवश्यक हुन्छ,’ उनले भने, ‘तर लगानीको स्रोतबारे चनाखोसमेत हुनुपर्छ।’
कान्तिपुरबाट


  •  
  •  
  •