सानो गल्तीले गाउँ नै स्वाहा

196
  •  
  •  
  •  

काठमाडौं २७ चैत ।
सप्तरीको रम्पुरा मल्हनियाँ–५ का दशरथ यादवको घरबाट सल्किएको आगोले बिहीबार दुई घन्टाभित्रै गाउँ नै सखाप पारेको छ। आगलागीमा ७२ परिवारका १ सय ६५ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ। सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार आगलागीमा झन्डै ५ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको अनुमान छ।

रम्पुरा मल्हनियाँ ठूला किसानको बाहुल्य भएको बस्ती हो। यही बस्तीमा आगो लाग्दा २ हजार ५ सय मनभन्दा बढी खाद्यान नष्ट भएको र गोठमै रहेका झन्डै आधादर्जन बढी पशु चौपायासमेत जलेको प्रहरीले जनाएको छ।
‘खेतमा काम गर्दैगर्दा धुवाँको मुस्लो देखेँ,’ पीडित छुतरु यादवले नागरिकसँग भने, ‘घर पुग्दा सबै जलेर सखाप भइसकेको थियो।’ दिउँसोको समय सबैजसो गाउँले खेतमा काम गर्न गएकाले कसैले पनि सामान निकाल्न नपाएको पीडितको दुखेसो छ।
प्रत्यक्षदर्शीका अनुसार बस्तीको पश्चिम भागबाट सल्किएको आगो चर्को हावाहुरीका कारण क्षणभरमै गाउँभरि फैलिएको थियो। राजविराज नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा झन्डै तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो।

चर्को हावाहुरी चलेका बेला घरमा दाल भुट्दा आगो सल्किएको स्थानीयले बताएका छन्। ‘सानो गल्तीले सिंगो गाउँ नै सखाप भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘यस्तो हावाहुरीको समयमा दिउँसो चुलो बाल्नु हुन्नथ्यो।’ प्रहरीले भने आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

बाटो नहुँदा नियन्त्रणमा समस्या

गाउँसम्म पुग्न उपयुक्त बाटो नहुँदा आगो नियन्त्रणमा समस्या परेको सुरक्षाकर्मीले बताएका छन्। ‘बाटो नहुँदा आगलागी भएको ठाउँसम्म वारुणयन्त्र पुर्याेउन निकै गाह्रो भयो,’ आगलागीको जानकारी पाएलगत्तै घटनास्थल पुगेका सप्तरीका प्रहरी नायब उपरीक्षक चिमरियाले भने।
प्रहरी तथा स्थानीयले खेतको आली काटेर जसोतसो बाटो बनाए पनि इटहरी तथा इनरुवा नगरपालिकाका वारुणयन्त्र घटनास्थलसम्म पुग्दै नपुगी फर्किएका थिए। समयमा वारुणयन्त्र आउन सकेको भए क्षति कम हुने सुरक्षाकर्मीको निष्कर्ष छ। नागरिकबाट


  •  
  •  
  •