फुङलिङ बजारमा भीषण आगलागी, बस्तीमा रुवाबासी र भागदौड

184
  •  
  •  
  •  

काठमाडौं १० चैत ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेका छन्। बेलुकी साढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन्।

फुङलिङको पूर्वेली होटल (पुरानो झापा होटल) बाट सुरु भएको भनिएको आगो क्षणभरमै करिब चार मिटर दायाँबायाँका घरमा फैलिएको थियो। पूर्वेली होटलबाट वीरेन्द्र चोकतर्फका घरमा फैलिएपछि स्थानीयले नरेन्द्र गुरुङको घर भत्काएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, घर भत्काउन नभ्याउँदै दायाँबायाँका घरमा आगो सल्किएको थियो। तोक्मेडाँडाको बजार लाग्ने क्षेत्रदेखि आसपासका सबै घर जलेका छन्। तीव्र वेगमा हावा चलेको र पर्याप्त पानी नभएकाले आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन्।

काठले बनेका अधिकांश घरमा तीनभन्दा बढी ग्यास सिलिन्डर रहेको तथा दुईवटा ग्यास डिलरमा समेत आगो सल्किएकाले अबेरसम्म निभाउन सकिएको छैन। जिल्लामा दमकल नभएकाले आगो नियन्त्रणमा लिन भ्याकु (एक्स्काभेटर) र डोजर लगाएर घरटहरा भत्काइएको छ। बाक्लो बस्तीमा भएको यो क्षेत्रमा अधिकतर व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएका छन्।

ढिलासम्म आगो नियन्त्रणमा नआएपछि इलामबाट दकमल झिकाएको स्थानीय प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले ग्यास सिलिन्डरको जोखिम तथा पानी अभावका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले आगो निभाउन अथक प्रयास गरिरहेको उनले जानकारी दिए।

सशस्त्र प्रहरी बल ताप्लेजुङका गणपति सुधीर सुवेदीका अनुसार आगो निभाउन बजारका करिब दर्जन घर भत्काइएको छ। ‘३५ भन्दा बढी घर–पसल नष्ट भएका छन्, आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ सोमबार राति उनले नागरिकसँग भने।

आगलागीबाट जिल्ला विकास समिति कार्यालयको पुरानो भवन, ऊर्जा तथा वातावरण शाखाको कार्यालय, स्थानीय शान्ति समितिको कार्यालय जलेका छन्। हाम्रो फोटो स्टुडियोको तल्लो भागमा रहेको नेपाल पत्रकार महासंघको कार्यालयसमेत ध्वस्त भएको छ भने निलम न्यौपानेको घरमा रहेको रेडपान्डा नेटवर्क, हिमाली संरक्षण मञ्च तथा जनमुखी कृषि सहकारी संस्थाको कार्यालय र प्रभु मनी ट्रान्सर्फरको कार्यालयसमेत पूर्ण रुपले नष्ट भएको प्रहरीले जनाएको छ।

यो क्षेत्र फुङलिङकै प्रमुख व्यापारिक केन्द्रसमेत रहेकाले आगलागीबाट ठूलो क्षति भएको अनुमान नेपाल रेडक्रस सोसाइटीले गरेको छ। रेडक्रसका जिल्ला सभापति गणेश अधिकारीले आगो नियन्त्रणमा लिनु र उद्धार कार्यमा लाग्नु पहिलो दायित्व भएकाले क्षतिको विवरण मंगलबार बिहानबाट मात्रै संकलन हुने उनले बताए। यो समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ। नागरिकबाट


  •  
  •  
  •