एमाओवादी भट्टराई पक्षको गोरखामा छुट्टै कार्यालय

75
  •  
  •  
  •  

गोरखा, २३ भदौ (ओएनएस) : केही समयअघि समानान्तर जिल्ला कमिटी गठन गरेको एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका कार्यकर्ताले छुट्टै पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् ।

आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल विचार समूहका जिल्लास्तरीय नेताले आफूहरुलाई निषेधको राजनीति गरेकाले बाध्य भएर समानान्तर जिल्ला कमिटी गठन गरेको बताउँदै आएको भट्टराई विचार समूहले सोमबारदेखि विधिवत् रुपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बढेको वैचारिक मतभेद अन्त्य गर्ने सहमति भए पनि गोरखामा भने दुई पक्षबीच गहिरो मतभेद छ । केन्द्रमा पार्टी नफुटे पनि भट्टराईकै गृह जिल्ला गोरखामा भने छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा आएको छ ।

नेता भट्टराईले संविधानसभा निर्वाचनमा गोरखा १ बाट विजयी भएपछि संविधानसभा सदस्यको कार्यालयको नामले छुट्टै कार्यालय सञ्चालनमा थियो । एमाओवादी भट्टराई समूहले संविधानसभा सदस्यको सम्पर्क कार्यालय लेखेको बोर्डभन्दा माथि पार्टी कार्यालय लेखेर बोर्ड झुन्ड्याएको छ ।


  •  
  •  
  •