दशैँमा ९२ जनाले गुमाए ज्यान

121
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक : इन्धन अभावका कारण सडकमा कम सवारी गुडे पनि दसैंमा सडक दुर्घटनाका कारण ९२ जनाले ज्यान गुमाएका छन् । घटस्थापना (असोज २६) देखि कोजाग्रत पूणिर्मा (कात्तिक ९) सम्म मुलुकका विभिन्न क्षेत्रमा भएका ५ सय २ सवारी दुर्घटनामा ९२ जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी निर्देशनालयका अनुसार मृत्यु हुनेमा ७२ पुरुष, १४ महिला, २ बालक र ४ बालिका छन् । काठमाडौं उपत्यकाको ट्राफिक महाशाखा, इटहरी, पथलैया, बुटबल, कोहलपुर, अत्तरियास्थित ट्राफिक कार्यालयहरूले संकलन गरेका तथ्यांकअनुसार ३ सय ९८ जना साधारण घाइते भएका छन् । १ सय ९२ गम्भीर घाइते भएका छन् । निर्देशनालयका अनुसार सबैभन्दा धेरै मृत्यु बुटबल क्षेत्रमा भएको छ । यो क्षेत्रमा २४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा दुर्घटनामा परि ७ जनाले ज्यान गुमाएका छन् । इटहरीमा २३, पथलैयामा २०, कोहलपुरमा १४ र अत्तरियामा ३ जनाको दुर्घटनामा परी मृत्यु भएको छ । सबैभन्दा बढी दुर्घटना भने इटहरीमा १ सय ९५ वटा भएका छन् । अत्तरियामा भने सबैभन्दा कम ५ दुर्घटना भए । काठमाडौं उपत्यकामा एक सय ८६ दुर्घटना भए ।

सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । निर्देशनालयका डीआईजी विजय भट्टका अनुसार चालकको लापरबाहीका कारण २ सय १६ दुर्घटना भएका हुन् । ‘दुर्घटना कम गर्न चालकलाई नै सजग बनाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘किनकि ९० प्रतिशत दुर्घटना चालककै कारण भएका छन् ।’ यस्तै, मापसे -मदिरा पान सेवन) का कारण ११, तीव्र गतिका कारण ६१, चौपायाका कारण २, यात्रु तथा व्यक्तिका कारण १७, ओभरटेकका कारण ७, ओभरलोडका कारण २, यान्त्रिक गडबढीका कारण ५ र सडकका कारण १ दुर्घटना भएका हुन् ।

– कान्तिपुर दैनिकबाट


  •  
  •  
  •