आठ देशका प्रहरी जसको खोजीमा छन्

193
  •  
  •  
  •  

काठमाडौ, ५ माघ : अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले अमेरिकासहित आठ देशको आग्रहमा विभिन्न अपराध अभियोगमा फरार ८८ नेपालीको खोजी गरिरहेको छ। इन्टरपोलले आफ्ना १ सय ९० सदस्यराष्ट्रका प्रहरीलाई तिनको तस्बिरसहित रेड, ग्रिन र ब्लु नोटिस जारी गरी पक्राउ गर्न सतर्क गराएको हो।

इन्टरपोलको नेपालस्थित नेसनल सेन्ट्रल ब्युरोको सूचीअनुसार ८८ नेपालीविरुद्ध नोटिस जारी गर्नेमा नेपालसँगै भारत, अमेरिका, कतार, साउदी अरबलगायत छन्।

इन्टरपोलले तत्काल पक्राउ गर्नुपर्ने सूचीमा राखेकालाई रेड, पटके र अन्य देशमा समेत उस्तै प्रकृतिको गम्भीर अपराध गर्नसक्ने व्यक्तिविरुद्ध सतर्क रहन ग्रिन र पहिचान खुलेको तर व्यक्ति फेला नपरेको हकमा थप जानकारीका लागि ब्लु नोटिस जारी गर्छ।

सन् २००९ देखि २०१५ सम्मको सूचीअनुसार नेपालीविरुद्ध भारतको आग्रहमा सबैभन्दा धेरै नोटिस जारी भएका छन्। अधिकांशमाथि चोरी र हत्या अभियोग छ। तीमध्ये राजेशबहादुर चक्रसिंह ठकुरी, वीरेन्द्रबहादुर थापा, देवी ओली, भिम दमाई, अनुप प्रधानलगायत २८ जनाको नाममा रेड नोटिस जारी भएको छ। हरिबहादुर थापा ग्रिन र राजेन्द्रबहादुर ब्लु नोटिसमा छन्।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीका अनुसार वैदेशिक रोजगारका लागि नेपाली जाने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को आग्रहमा १३ नेपाली रेड नोटिसमा छन्। अधिकांशमाथि ठगी अभियोग छ। प्रायःले बैंकबाट लिएको ऋण नतिरी फरार भएका आधारमा नोटिस जारी भएको इन्टरपोल काठमाडौंको तथ्यांकले देखाउँछ।

कतार र साउदी अरेबियाको आग्रहमा क्रमशः ८ र ३ जना नेपाली रेड नोटिसमा छन्। अमेरिकाको खोजीसूचीमा ५ नेपाली छन्। अमेरिकाले तीन जनाको ज्यान जाने गरी लापरबाहीपूर्वक गाडी चलाएको घटनामा दोषी भन्दै काठमाडौंका साजन तिमल्सिनाविरुद्ध रेड नोटिस जारी गराएको हो।

त्यस्तै, काठमाडौंका अभिकेस सिंहलाई बाल यौन दुराचार अभियोगमा अमेरिकाले रेड नोटिस जारी गराएको छ भने पंकज जोशी चिठ्ठा ठगी र होम गुरुङ हेरोइन कारोबार अभियोगमा नोटिसमा परेका छन्। बाल यौन दुराचारका अभियुक्त गोविन्दबहादुर बस्नेतविरुद्ध अमेरिकाले नै ग्रिन नोटिस जारी गराएको छ।

बेलारुसले मोहनप्रसाद जैसवाल, बहराइनले दीपकबहादुर खड्का र इटालीले पञ्चबहादुर गुरुङलाई खोज्न रेड नोटिस जारी गराएको छ । नागरिकबाट


  •  
  •  
  •