सुदूरपश्चिममा ७३ हजार परीक्षार्थी

282
  •  
  •  
  •  

धनगढी, ५ चैत (ओएनएस) : चैत १८ गते शुरु हुने प्रवेश परिक्षा (एसएलसी) मा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट ७३ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

सुदूरपश्चिमका ९ वटै जिल्लाबाट नियमित, आंशिक तथा प्राविधिक गरी ७३ हजार ८७ परीक्षार्थी एसएलसीमा सहभागी हुन लागेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलका शाखा अधिकृत पूर्ण शाहले जानकारी दिए । शाखा अधिकृत शाहका अनुसार ४७ हजार ३६ नियमित, २५ हजार ५ सय २२ आंशिक तथा ५ सय २९ प्राधिकधारका विद्यार्थीहरू एसएलसी परीक्षा दिँदैछन् । गत वर्षको भन्दा यो वर्ष २ हजार ३ सय २१ परीक्षार्थी बढी छन् । गत वर्ष ४५ हजार ३ सय ४२ नियमित तथा २४ हजार ४ सय २४ आंशिक गरी ६९ हजार ७ सय ६६ परिक्षार्थीले एसएलसी दिएका थिए ।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निमित्त निर्देशक अनन्तकुमार पौडलले यस क्षेत्रमा एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष तोक्ने काम भइसकेको छ ।’, निर्देशक पौडलले भने, ‘केन्द्राध्यक्ष तथा परीक्षामा सहभागी हुने अन्य कर्मचारीहरूलाई प्रशिक्षण दिने काम भइरहेको छ ।’ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसअघि नै सुदूरपश्चिम विकास क्षेत्रमा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका पठाइसकेको जनाएको थियो । यस वर्ष एसएलसीमा सहभागी हुने विद्यार्थीहरूलाई आफ्नो विवरण गलत भए सच्याउन दिने मेमो कार्ड पनि सँगै पठाइएको छ । मेमो कार्ड र विद्यार्थीको फारममा नाम, थर, जन्म मिति, सिम्बोल नम्बर लगायतका कुरा फरक भए १५ दिनभित्र सच्याउन सकिनेछ । यस वर्षको प्रश्नपत्रमा पूर्णांक र समय मात्रै उल्लेख हुने भएको छ ।

एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णांक उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको जनाइएको छ ।

यस वर्ष सुदूरपश्चिमका नौ वटै जिल्लामा २ सय २९ परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष २ सय १५ परीक्षा केन्द्र रहेका थिए । यस वर्ष बझाङमा ९, दार्चुला र बैतडीमा १/१ तथा कञ्चनपुरमा ३ गरी १४ केन्द्र थप गरिएको शाखा अधिकृत शाहले जनाए ।

सबैभन्दा बढी परीक्षार्थी कैलालीमा रहेका छन् । कैलालीमा नियमित १३ हजार ७ सय १६, आंशिक ६ हजार ९ सय ५७ र प्राविधिकतर्फ ८१ गरी २० हजार ७ सय ५४ परीक्षार्थी रहेका छन् । २ सय ३४ विद्यालयका विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन् । कैलालीमा ५१ परीक्षा केन्द्र रहेका छन् ।

सुदूरपश्चिम क्षेत्रमा सबैभन्दा कम परीक्षार्थी दार्चुलामा रहेका छन् । सुदूरपश्च्मिाञ्चल क्षेत्रीय निर्देशनालयका अनुसार दार्चुलामा ४ हजार ४ सय ४६ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । नियमिततर्फ २ हजार ६ सय २०, आंशिकतर्फ १ हजार ७ सय ५६ र प्राविधिकतर्फ ७० परीक्षार्थी रहेका छन् ।

कञ्चनपुरमा १२ हजार ६ सय ८८ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । नियमिततर्फ ८ हजार ७ सय ७८, आंशिकतर्फ ३ हजार ८ सय ५२ र प्राविधिकतर्फ ५८ परिक्षार्थी रहेको जनाइएको छ । कञ्चनपुरमा ३३ परीक्षा केन्द्र रहेका छन् ।

डोटीमा २ हजार ६ सय २८ नियमित, १ हजार ३ सय ४६ आंशिक तथा ३५ प्राविधिकतर्फ गरी ४ हजार ९ परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । डोटीमा ११ परीक्षा केन्द्र छन् ।

अछाममा ७ हजार ६ सय १७ परीक्षार्थी रहेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायालले जनाएको छ । ४ हजार ६ सय ६४ नियमित, २ हजार ९ सय २० आंशिक र ३३ प्राविधिकतर्फ गरी ७ हजार ६ सय १७ परिक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । अछाममा २२ परीक्षा केन्द्र रहेका छन् ।
बझाङमा नियमित ३ हजार ३ सय ५२, आंशिक २ हजार ६ सय ३९, प्राविधिक ४६ गरी ६ हजार ३७ परीक्षार्थी रहेका छन् । बझाङ ४६ केन्द्र तोकिएका छन् ।

१४ परीक्षा केन्द्र रहेको बाजुरामा ४ हजार ५ सय ६७ परिक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । नियमिततर्फ २ हजार ८ सय २१, आंशिकतर्फ १ हजार ७ सय ३ र प्राविधिकतर्फ ४३ गरी ४ हजार ५ सय ६७ परीक्षार्थी रहेका छन् ।

यसैगरी बैतडीमा ८ हजार ५ सय १९ परीक्षार्थी एसएलीमा सहभागी हुँदैछन् । २५ परीक्षा केन्द्र रहेको बैतडीमा नियमिततर्फ ५ हजार ४ सय ६१, आंशिकतर्फ २ हजार ९ सय ६७ र प्राविधिकतर्फ ९१ परीक्षार्थी रहेका छन् ।

१२ परीक्षा केन्द्र रहेको डडेल्धुरामा ४ हजार ४ सय ५० परीक्षार्थी एसएलसीमा सहभागी हुँदैछन् । डडेल्धुरामा २ हजार ९ सय ९६ नियमित, १ हजार ३ सय ८२ आंशिक र ७२ प्राविधिकतर्फ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । चैत १८ बाट शुरु हुने एसएलसी परीक्षा २९ गतेसम्म चल्नेछ ।


  •  
  •  
  •