सुनकोशीको ताल पुरै खुल्न ‘७२ घण्टा’ लाग्ने

164
  •  
  •  
  •  

काठमाडौं, १८ साउनः सिन्धुपाल्चोकको मांखा, जुरेमा पहिरो गएर १२ घन्टा बढी समय थुनिएर जमेको १ करोड ५० लाख क्युबिक मिटर पानी निकास हुन कम्तीमा ७२ घन्टा लाग्ने अनुमान प्राविधिकले गरेका छन् ।

पहिरोले बनाएको बाँधको स्थलगत भ्रमण गरेर फर्किएका जलउत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजन जियोहाइड्रोलोजिस्ट सनमुखेस अमात्यका अनुसार बिस्तारै पानी निकास हुने अवस्था छ। उनले भने, ‘त्यस क्षेत्रमा पानी परेन भने ७२ घन्टासम्ममा जमेको पानी निकास हुन्छ भन्ने अनुमान हो।’
_AKD0486बाँधले पूरै नदी थुनेको अवस्थामा एक मिनेटमा १ दशमलव ५० सेन्टिमिटरका दरले पानीको सतह बढेको जानकारी दिँदै अमात्यले भने, ‘ब्लास्ट गरेर खोला खोलेपछि पानीको सतह बढ्न छाड्यो, त्यस आधारमा बिस्तारै जमेको पानी घट्छ।’

पहिरोले थुनिएपछि भोटेकोसीको पानी करिब ३० मिटर उचाइसम्म जमेको, ३ किलोमिटरसम्म फैलिएको र खोलाको चौडाइ २ सय मिटरका आधारमा करिब १ करोड ५० लाख क्युविक मिटर पानी जम्मा भएको हिसाब अमात्यको छ। ‘बिस्तारै निकास भयो भने तल्लो क्षेत्रमा क्षति हुने सम्भावना कम छ,’ अमात्यले भने, ‘भोलिसम्मको स्थिति हेरेर पहिरोले बनेको बाँधलाई अझ खोल्ने वा नखोल्ने निर्णय हुन्छ।’

‘पानी खोलेपछि घटनास्थलबाट करिब ७ किलोमिटर वर खाडीचौरमा कोसीको पानी खतराको सतह भन्दा १ मीटर तलै रहेको पाइयो’ अमात्यले भने ‘ खोलेको पानी बगेर आउँदा खतराको लेभल १ मिटरभन्दा तल रहेकाले तल्लो क्षेत्रमा क्षति हुने सम्भावना कम छ।’

थुनिएको क्षेत्रभन्दा तलका क्षेत्रमा कम खतरा होस् भनेरै चट्टानी क्षेत्रमा ब्लास्ट गर्ने निर्णय लिएको उनले बताए।

उनका अनुसार पहिरो आएको क्षेत्रपट्टि नै पहिरोले ल्याएका चट्टान र माटो धेरै छ भने पारिपट्टि माटो र ढुंगाको ग्रेगान थुप्रिएको छ। पहिरोको पारिपट्टिको बाघ अग्लो र चट्टान भएको क्षेत्रतर्फ होचो भएकाले त्यसै क्षेत्रमा बम ब्लास्ट गर्ने निर्णय भएको उनको कथन छ। अमात्यले भने, ‘माटो र चट्टानका ग्रेगान भएको ठाउँबाट पानी खोलेको भए त्यहाँबाट चाडै पानी निकास त हुन्थ्यो, तर पानीको वेगले तल्लो तटमा बढी क्षति र खोला खोतल्ने खतरा हुन्थ्यो।’

विभागका सिनियर इन्जिनियरिङ जियोलोजिस्ट श्रीकमल द्विवेदीका अनुसार यसअघि पहिरो गएकै क्षेत्रमा ठूलो पहिरो गएर नदी थुनिएको बताए। ‘पुरानो पहिरो गएको क्षेत्रमै रहेछ, यसपटक पहिरो निकै ठूलो हो,’ द्विवेदीले भने, ‘एउटा ठूलो टार र त्यसमा बसेको गाउँ नै बगाएको रहेछ।’

अमात्यका अनुसार पहिरो ‘सिस्ट’ भनिने कमजोर चट्टानमा गएको छ। उनले उक्त पहिरो करिब ४ सय मिटर लामो र नदीमा आइपुग्दा त्यत्तिकै चौडा फैलिएको आँकलन गरे। खाडीचौरदेखि ब्राह्रबिसेसम्मको भोटेकोसी/सुनकोसी किनाराको भू–बनोट कमजोर रहेको भूगर्भविद बताउँछन्।

नागरिकबाट


  •  
  •  
  •