किर्गिस्तान जान लागेका शंकास्पद ७ पक्राउ

249
  •  
  •  
  •  

कञ्चनपुर, ९ चैत(ओएनएस) : रोजगारीका लागि किर्गिस्थान जान लागेको भन्दै हिँडेका दुई युवतीसहित शङ्कास्पद ७ जनालाई आज बिहान प्रहरीले पश्चिमी नाका गड्डाचौकीबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौँ–दिल्ली रूटमा चल्ने बसमा सवार सिन्धुपाल्चोक मार्मिङ गाविस–२ का २१ वर्षीया धनमाया तामाङ र मोरङ सुन्दरपुर–६ का १९ वर्षीया सुस्मिता राई र धनमायाका भाइ दावाछिरिङ तामाङलाई सोधपुछका क्रममा शङ्का लागेपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नियन्त्रणमा लिइएका सात जनालाई सार्वजनिक समेत गरेको छ । पत्रकार सम्मेलनमा सुस्मिताले गाउँका हुसेन राई नाम गरेका युवकले किर्गिस्थान रोजगारीका लागि पठाइदिने भन्दै आफूहरूबाट दुई/दुई लाखसमेत असुल गरेको जानकारी दिइन् । धनमायाका भाइ दावाले आफ्नो दिदीलाई दिल्लीसम्म पुर्याउन हिँडेको बताए ।

“कहाँ जाने, कसरी जाने, कसले लाने भन्नेबारे कुनै जानकारी यिनीहरुसित छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व नीरञ्जन प्रधानले भने, “काठमाडौँको स्वयम्भूमा रहेको ओम टुर एण्ड ट्राभल्सले टिकट काटेको छ ।”

त्यसैगरी तीनजनासँगै सिन्धुपाल्चोक मार्मिङ गाविस–७ का ५७ वर्षीय सोनाम धर्के तामाङसहित उनकी छोरी, छोरा र बुहारीलाई समेत नियन्त्रणमा लिएको छ । सोनामकी छोरी पासाङ ल्हामु तामाङ, भाइको छोरा र बुहारी ग्यागेङ तामाङ र पूजा तामाङलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रधानले सातैजनाको एउटै टुरले टिकट काटेको र उनीहरूले एकआपसमा परिचित नभएको प्रतिक्रिया दिएपछि थप शङ्का लागेको बताए । “यी सबैलाई एजेन्टमार्फत अन्यत्रै लग्न खोजिएको जस्तो छ”, उनले भने, “किर्गिस्थान जानेलाई सम्झाएपछि घर फर्किन तयार भए ।”

पत्रकार सम्मेलनमा सुस्मिताले आफूहरुलाई किर्गिस्थानमा मासिक रु ३० हजार पारिश्रमिक पाउने प्रलोवनमा दिल्ली भएर लैजान लागेको बताए ।

प्रहरी उपरीक्षक प्रधानले नियन्त्रणमा लिइएकाले दिएको टुर र होटल दुवैले फोन गर्दा नउठाएको बताए । प्रहरीले माइती नेपालमार्फत नियन्त्रणमा लिइएका सातैजनालाई घर फर्काउने जनाएको छ ।


  •  
  •  
  •