काठमाडौँ, १७ फागुन(ओएनएस) : अर्थ मन्त्रालयले पुनर्निर्माण प्राधिकरणलाई पहिलो किस्ता रकम वितरणका लागि ६५ अर्ब रुपैयाँ निकासा दिएको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयले निजी घर पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको पहिलो किस्ताको रकम वितरणका लागि निकासाको निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
पूर्ण रूपमा निजी घर भत्किएको परिवारलाई पहिलो किस्ता अन्तर्गत ५० हजार रुपैयाँका दरले वितरण गर्नका लागि ६५ अर्ब रूपैयाँ रकम निकासा गरिएको हो । आगामी २० गतेबाट दोलखाको सिंगटीबाट पहिलो चरणको रकम वितरण सुरु गरिने प्राधिकरणले जनाएको छ । भत्किएका संरचनाको सर्भे सिंगटीमा भइसकेकाले वितरण सुरु गरिने उनले बताए हुन् ।
सर्वेक्षण सकिसकेको ठाउँहरूमा क्रमश: वितरण गर्दै जाने प्राधिकरणले जनाएको छ । सर्वेक्षणको काम सकिएपछि स्रोत केन्द्र स्थापना गरी अनुदान अन्तर्गतको २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अनुदान अन्तर्गतको रकम घरधनीले सुरक्षित घर निर्माणको सर्तसहित नक्सा पास गरेपछि प्रथम किस्ताअन्तर्गत २५ प्रतिशत ५० हजार रुपैयाँ अनुदान पाउने छन् ।
जग निर्माण कार्यसम्पन्न भए पश्चात प्राविधिक चेकजाँचका आधारमा दोस्रो किस्ता रकम ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ पाउने छ । छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भए पश्चात तेस्रो एवं अन्तिम किस्ता ७० हजार रुपैयाँ पाइने व्यवस्था गरिएको छ ।