५८ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै

201
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : आज चैत २० अर्थात राष्ट्रिय सहकारी दिवस । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजको दिन राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय ३१ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा रहेको सहकारी विभागले जनाएको छ । सहकारी क्षेत्रले मुलुकको कुल गाह्स्थ उत्पादनमा ३ प्रतिशतभन्दा माथि र वित्तीय क्षेत्रमा १८ प्रतिशतभन्दा माथि योगदान पुर्याएको राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालले जनाएको छ ।

यस क्षेत्रमा संलग्न ४६ लाखभन्दा बढी सदस्यमध्ये ४६ प्रतिशतभन्दा धेरै महिला रहेका छन् । दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइराला, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौड्याल र राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष केशव प्रसाद बडाल लगायतले शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले सहकारी अभियानलाई सरकारले गरिबी उन्मूलनको लक्ष्य हासिल गर्ने माध्यमका रूपमा लिएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य हासिल गर्न सहकारीबाट मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । दिवसका अवसरमा देशैभरिका सहकारीकर्मीले आज बिहान प्रभातफेरीको आयोजना गरेका थिए ।

राष्ट्रिय सहकारी संघको आयोजनामा काठमाडौंको लैनचौरबाट निकालिएको सहकारी प्रभातफेरी भृकुटीमण्डप पुगेर सभामा परिणत भएको संघका अध्यक्ष केशव बडालले जानकारी दिए ।


  •  
  •  
  •