काठमाडौं, ११ चैत (एजेन्सी) : युक्रेनको क्रिमिया प्रायद्विप रुसमा गाभेपछि अहिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आलोचनाको पात्र बनिरहेका छन् ।
जनमत संग्रहको नतिजालाई आधार मानेर सैन्य शक्तिको आडमा क्रिमियालाई रुसमा गाभेका पुटिनले आफ्नो देशमा स–साना बालकहरुलाई पनि सैन्य तालिम दिन लगाउने गरेका रहेछन् ।
हालै सञ्चारमाध्यममा स–साना बालकहरुलाई सैन्य तालिम दिँदै गरेको तस्बिरहरु सार्वजनिक भएका छन् ।
मातृभूमिमा आक्रमण गर्ने जो कोहीको शशक्त प्रतिकार गर्न रुसमा पाँच वर्षदेखिका बालकहरुलाई यस्तो तालिम दिने गरिएको छ । सैन्य कवाजदेखि तीन बालकहरुलाई बन्दुक चलाउन, बम फ्याँक्न, पारासुटबाट हामफाल्न पनि सिकाइन्छ । राष्ट्रपति पुटिनकै अनुमतिमा विभिन्न सैन्य क्लबहरुले बालकहरुलाई तालिम दिने गरेका छन् ।
‘मदरल्याण्ड’को सुरक्षार्थ यसरी बाल्यकालदेखि नै सैन्य तालिम दिनुलाई कतिपयले पूर्व सोभियत यूनियनलाई ब्यूँताउने रुसको प्रयासको रुपमा ब्याख्या गरेका छन् ।