किन भिडे सिटौला ? यी हुन् पाँच कारण

1856
  •  
  •  
  •  

krishna prasad sitaulaकाठमाडौँ, २३ फागुन(ओएनएस) : निवर्तमान महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिएपछि धेरै कांग्रेसीजन छक्क परे, उनले एकाएक किन उम्मेदवारी दिए ? त्यसको उत्तर सिटौलाले गगन थापा र उमाकान्त चौधरीलाई उभ्याएर दिए, कांग्रेसमा कुनै गुट छैन, ‘कसैको पारिवारिक विरासत छैन । बीपी, गिरिजा र सुशील कोइरालाको असली वैचारिक उत्तराधिकारी हामी हौँ ।’

सिटौलाले सभापति जित्नेमा आशावादीभन्दा आशंका गर्ने धेरै भेटिन्छन्, महाधिवेशनस्थलमा । तर, उनले कति मत सुरक्षित गर्छन् भन्नेचाहिँ उनको राजनीतिक भविष्यको मापक मान्न सकिन्छ । उनीसँग करिब २ सयदेखि ३ सय मत रहेको आकलन कांग्रेसका राजनीतिक गणितज्ञहरु बताउँछन् । गगन थापाका मतदातामध्ये केही थपिएमा ४ सयको हाराहारी उनले मत प्राप्त गर्न सक्ने अनुमान छ ।

उनले ४ सय मत पाएमा सभापतिका लागि निर्वाचन दोस्रो चरणमा लैजानुपर्ने बाध्यता हुनेछ । त्यतिखेर निर्णायक सिटौला बन्न सक्नेछन् । यद्यपि, उनले ३ सयको हाराहारी मत ल्याउने हो भने पनि सम्मानजनक नै मान्नुपर्ने हुन्छ । र, उनको अभीष्ट पनि लगभग पूरा हुनेछ । किनभने, उनी अहिले नै सभापति निर्वाचित भइहाल्नेभन्दा पनि उनका केही राजनीतिक महत्वाकांक्षा छन्, जुन सभापतिमा उम्मेदवारी दिएर पूरा हुने उनले ठानेका छन् ।

१. ट्रोइका सदस्य बन्ने : नेपाली कांग्रेसमा ट्रोइका (तीन नेता)को अवधारणा स्थापनाकालदेखि नै रहेको हो । पछिल्लोपल्ट सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा ट्रोइकाको भूमिकामा थिए । कोइरालाको निधनपछि कांग्रेसका शीर्ष नेतामा आफ्नो नाम लेखाउन सिटौला चाहन्छन् । त्यसका लागि उनले यो उम्मेदवारी दिएको मान्न सकिन्छ ।

२. समकालीनलाई उछिन्ने : रामशरण महत, प्रकाशशरण महत लगायत समकालीन नेताहरूभन्दा आफूलाई माथिल्लो ओहोदामा राख्न उनले सभापतिमा उम्मेदवारी दिएको ठान्नेहरु पनि छन् । उनले सम्मानजनक मत पाए र किङ मेकरको भूमिका पनि निभाउन पाएमा यो भूमिकामा उनी सफल पनि हुनेछन् ।

३. संसदीय दलमा बार्गेनिङ : देउवा वा पौडेलमध्ये जो विजयको नजिक छ, ऊसँग संसदीय दलको नेतामा बार्गेनिङ गर्न सक्छन् । त्यसो हुँदा उनलाई भावी प्रधानमन्त्रीको दावेदारी सहज हुनेछ ।

४. अन्तर्राष्ट्रिय आकर्षण बन्ने : १२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा खेलेको भूमिकालाई देखाउँदै आगामी दिनमा पनि आफूलाई कांग्रेसको प्रबल सम्भावना भएको नेतामा उभ्याइरहन र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको ध्यान आफूतर्फ आकर्षित गराइरहन चाहन्छन् सिटौला । यो उम्मेदवारी पनि त्यसैको एक कडी हो ।

५. आगामी महाधिवेशनको दावेदारी : आगामी महाधिवेशनको दाबेदारीलाई अझ बलियो बनाउन उनको अहिलेको उम्मेदवारी कामयावी बन्न सक्छ । सायद उनी भोलिदेखि नै आगामी सभापतिका रुपमा प्रचार गर्नेछन्, संगठन बनाउनेछन् । त्यसका लागि कांग्रेसका सम्पूर्ण नेता कार्यकर्तामाझ पुग्न अहिलेको उम्मेदवारीले धेरै हदसम्म सघाउनेछ ।

सम्बन्धित समाचार ः

देउवा : पहिलो हुन सजिलो, जित चुनौतीपूर्ण

रामचन्द्रलाई पत्याउला भारतले ?


  •  
  •  
  •