सिटिजन्स बैंक खुल्ला टेनिस प्रतियोगिता हुने

228
  •  
  •  
  •  

काठमाडौं, ८ बैशाख (ओएनएस) : यहि बैशाख १३ गतेबाट राजधानीमा सिटिजन्स बैंक चौथो खुल्ला टेनिस प्रतियोगिता हुने भएको छ । दशरथ रंगशाला टेनिस कम्प्लेक्स व्यवस्थापन समितिको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता बैशाख १९ गते सकिने छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख प्रयोजनमा हुन लागेका् प्रतियोगितामा एक सय ५० जनाको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष मनोहरदास मूलले जानकारी दिए । प्रतियोगिताका बारेमा जानकारी गराउन सोमबार राजधानीमा पत्रकार सम्मेलन समेत गरिएको थियो ।

खेलहरु त्रिपुरेश्वरको दशरथ रंगशाला परिसरमा रहेको टेनिस कम्प्लेक्स तथा सातदोवाटो टेनिस कम्प्लेक्समा खेलाइने अध्यक्ष मूलले बताए । उनले भने, ‘सिङ्गल्स र डबल्स गरी दुई स्पर्धामा खेल हुनेछन् । ३५ वर्षभन्दा माथि, ४५ वर्षभन्दा माथि, ५५ वर्षभन्दा माथि र ६५ वर्षभन्दा माथि उमेर समूहका बीचमा सिङ्गल्स र डबल्सका खेलहरु हुनेछन् । यसका साथै मेन सिङ्गल्स तथा डबल्स र वीमेन सिङ्गल तर्फका खेलहरु हुनेछन् । यस प्रतियोगिताका लागि कुल नगद पुरस्कार २ लाख रुपैंयाँ बराबरको हुनेछ ।’

मेन सिङ्गल्स तर्फको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैंयाँ पाउने दशरथ रंगशाला टेनिस कम्प्लेक्स व्यवस्थापन समितिले जनाएको छ । मेन सिङ्गल्स तर्फ सेमिफाइनलका २ जनाले ५ हजार र क्वाटरफाइनलका ४ जनाले २ हजार ५ सयका दरले पुरस्कार पाउने अध्यक्ष मूलले बताए ।

उनले भने, ‘वीमेन सिङ्गल्सतर्फ विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, सेमिफाइनलमा पुगेका २ जनाले ३ हजार ५ सयका दरले र क्वाटरफाइनलमा पुगेका ४ जनाले एकहजार ५ सयका दरले पुरस्कार पाउँछन् ।’

मेन्स डबल्सतर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय र सेमिफाइनलमा पुग्नेले ३ हजार ५ सय पाउने अध्यक्ष मूलको भनाइ छ । अरु समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिन चाहने खेलाडीले बैशाख १० गते साँझ ५ बजेभित्र नाम दर्ता गराइसक्नु पर्नेछ ।


  •  
  •  
  •